प्रधानमन्त्री प्रचण्ड भन्छन् : वर्तमान सरकार पाँच वर्ष टिक्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकार पाँच वर्ष नै टिक्ने बताएका छन् ।

रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–६ मग्मामा शहीद स्मृति खेलकुद तथा सांस्कृतिक मेलामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार बनेदेखि नै ढाल्ने चलखेल सुरु भए पनि कसैले हल्लाउन नसक्ने बताए ।

‘गठबन्धन सरकार कमजोर भए अराजकतावादी, विचारविहीनहरू बढ्दै जान्छन्, सामन्ती र निरंकुशतावादीले टाउको उठाउने खतरा बढ्छ’, प्रचण्डले भने ।

उनले मुलुकका विभिन्न भागमा धार्मिक र जातीय सद्भाव बिगार्ने खेल भइरहेको भन्दै त्यसलाई रोक्न आवश्यक भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले रुकुम पश्चिमको समग्र विकासबारे आफू जानकार रहेको बताउँदै काठमाडौं पुगेपछि मन्त्रिपरिषद्को बैठकले यसबारे महत्त्वपूर्ण निर्णय गर्ने जानकारी दिए ।