काठमाडौं आएका गुटेरसले दिनभर नेता भेट्ने भोली पोखरा पुग्ने

काठमाडौं। काठमाडौं आइपुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार आज गुटेरसले राष्ट्रपतिसँग शीतल निवासमा र प्रधानमन्त्रीसँग सिंहदरबारमा शिष्टाचार भेट गर्नेछन्। महासचिव गुटेरसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संघीय संसद् भवन नयाँ बानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने पनि तय भएको छ।

यस्तै, गुटेरसले आजै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री एनपी साउदसँग समेत छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।

भेटवार्तापछि उनले आज ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम तय भएको छ। गुटेरसको भ्रमणलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन्।

भ्रमणका क्रममा सोमबार उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जाने तय भएको छ। अन्नपूर्ण आधार शिविर पुगेर उनले जलवायु परिवर्तनका कारण त्यहाँ परेको असरबारे स्थानीयसँग छलफल गर्नेछन्।

मंगलबार अपराह्न ४ बजे उहाँले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासचिव भएपछि उनी पहिलोपटक नेपाल भ्रमणमा आएका हुन्। गुटेरसले नेपालमा रहँदा शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने मन्त्रालयले जनाएको छ।