काठमाडौँ । हमासको आक्रमणमा परि ज्यान गुमाएका मध्ये थप जना नेपाली विद्यार्थीको शव पहिचान भएको छ । दक्षिणी इजरायलको किबुचमा ‘ लर्न एण्ड अर्न’ प्रशिक्षणमा रहेका बेला हमासको आक्रमण परी १० जना विद्यार्थीेले ज्यान गुमाएका थिए ।
तेलअबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आइतबार पहिचान भएको हो । योसँगै आठ जना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ । बाँकी दुई जनाको शव पहिचानका क्रममा छ ।
इजरायल सरकारले उपलब्ध सम्पूर्ण संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन भएका विपिन जोशीको खोजी जारी रहेको दूतावासलाई जानकारी दिएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
हमासको आक्रमणमा परी घाइते भएका चार जना विद्यार्थीमध्ये दुई जनालाई अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको छ । डिस्चार्ज गरिएकामध्ये एक जना नेपाल आइसकेका र अर्का एक जना दूतावासको रेखदेखमा रहेका छन् । साथै अन्य दुई जनाको इजरायलमा उपचार भइरहेको छ ।
Add Comment