टी-२० विश्वकप एसिया छनोटका लागि नेपाल सिंगापुरसँग खेल्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिता घरेलु टोली नेपालसहित एसियाका उत्कृष्ट ८ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

पहिलो दिन कुल चार खेल हुनेछ । समूह ए मा रहेको घरेलु टोली नेपालले पहिलो खेलमा सिंगापुरसँग खेल्नेछ । यो खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । समूह एअन्तर्गत नै ओमान र मलेसियाबीचको खेल टीयू मैदानमै दिउँसो सवा १ बजे सुरु हुनेछ ।

यस्तै समूह बीअन्तर्गत यूएई र बहराइनबीचको खेल बिहान ९ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । समूह बी कै हङकङ र कुवेतबीचको खेल दिउँसो सवा १ बजे मुलपानीमा हुनेछ ।

१९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुने छन् ।

दोस्रो पटक टी-२० विश्वकपमा छनोट हुने लक्ष्यमा रहेको नेपाललाई यस पटक घरेलु मैदान र दर्शकको साथ हुनेछ । नेपालले सन् २०१४ मा बंगलादेशमा टी(२० विश्वकपमा डेब्यु गरेको थियो । तर, त्यसपछिका तीन संस्करणमा भने नेपाल छनोट हुन सकेन । यस पटक नेपाललाई घरेलु मैदानमै शीर्ष दुईमा रहेर विश्वकप पुग्ने सुनौलो अवसर छ ।
अर्को वर्ष हुने टी-२० विश्वकपमा २० टोली सहभागी हुँदैछन् ।