खोटाङ । बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएका सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीका परिवारसहित आठ जनामध्ये तीनजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले उपाध्यक्ष चौलागाईं, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई आइतबार पक्राउ गरेको हो ।
सहकारीमा भएको आर्थिक अनियमितताका विषयमा प्रहरीले छलफलका लागि जनाउँदै कार्यालयमा बोलाएर षडयन्त्रपूर्वक सञ्चालक समितिका पदाधिकारीलाई नियन्त्रणमा लिएको सञ्चालक समितिका एक पूर्वसदस्यले आरोप लगाएका छन् ।
“ऋणीहरुविरुद्ध हामीले किटानी जाहेरी दिएका छौँ । उनीहरु नै हुन् दोषी । अहिले पक्राउ परेका कोही पनि दोषी छैनन् । सञ्चालक समितिका सचिव मनोज राई आफैँले ऋणीहरुविरुद्ध गत माघ ६ गते किटानी जाहेरी दिनुभएको छ । उहाँलाई नै प्रहरीले पक्राउ गरेपछि कसरी अनुसन्धान प्रक्रिया अगाडि बढ्छ रु”, नाम उल्लेख नगर्ने सर्तमा एक पूर्वसदस्य ले भने “ यसमा निष्पक्ष छानबिन हुन जरुरी छ । बिना कारण कसैलाई दुःख दिन पाइँदैन । दोषीले उन्मुक्ति पाउनुहुँदैन ।”
Add Comment