पत्रकार सम्मेलनमै किन भइन् बेहोस भारती

काठमाडौं । दोसी ठहर भएका योगराज ढकाल रिगल को कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध अनसन थालेकी भारती शेर्पा पत्रकार सम्मेलनस्थलमै बेहोस भएकी छन् ।

गत शुक्रबारदेखि अनसन थालेकी उनी सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमा पुगेकी थिइन् । पत्रकार सम्मेलनमा अरु वक्ताहरुले बोल्ने क्रममा उनी बेहोस भएपछि वीर अस्पताल लगिएको उनका एक सहयोगीले जानकारी दिए । यसअघि सर्वोच्च अदालतमा तारिख लिन जाँदा पनि बेहोस भएर ढलेपछि उनलाई वीर अस्पताल लगिएको थियो ।

आफ्नो पतिको हत्यामा संलग्नलाई दिइएको कैद छुटको निर्णय खारेज हुनुपर्ने माग राखी उनले असोज १७ गतेदेखि अनसन शुरु गरेकी थिइन् । दशैं विदामा अनसन स्थगित गरेकी उनले गत शुक्रबारदेखि फेरि अनसन जारी राखेकी छन् ।

शेर्पाले आफ्ना पति चिरन मानन्धरको हत्यामा संलग्न बाँकेका रिगल ढकालको कैद मिनाहा गर्ने मन्त्रिपरिषदको सिफारिस र राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा समेत रिट निवेदन दर्ता गरेकी छन् ।