रोमाञ्चक खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित

काठमाडौँ । घरेलु टोली नेपाल आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्ग समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

बिहिबार कीर्तिपरस्थित टीयु मैदानमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १ सय ४० रन मात्र बनाए । रोमाञ्चक खेलमा नेपाललाई जितका लागि अन्तिम ओभरमा २६ रन आवश्यक थियो । विवेक यादवले सुरुवाती ३ बलमा लगातार छक्का हानेर जितको आशा कायम राखेका थिए ।

ओपनर कुशल भुर्तेलले २६ रन बनाए । अर्का ओपनर आसिफ शेख पाँच रनमै आउट भए । तेस्रो नम्बरका ब्याट्सम्यान सोमपाल कामी पनि १२ रनभन्दा अगाडि बढ्न सकेनन् ।

कुशल मल्ल १० रनमै पेभेलियन फर्किए । कप्तान रोहित पौडेल पनि १२ रनमै आउट भए । गुल्सन झा तीन रनभन्दा अगाडि बढ्न सकेनन् । सन्दीप लामिछाने दुई रनमै स्टम्पिङ आउट भए । करण केसीले ११ बलमा एक छक्का र एक चौकाको मद्दतले १५ रन बनाए । ओमानका बलर बिलाल खानले तीन विकेट लिए । सकिल अहमद, महेरान खान र अकिब इलियासले पनि दुई—दुई विकेट हात पारे ।

समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान समूह ‘ए’ बाट सेमिफाइनलमा प्रवेश गरिसकेका थिए । बिहीबारको खेलले समूह वितेको टुंगो लगाएको हो । नेपाललाई हराएपछि ओमान ६ अंकसहित समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो ।

नेपाल भने चार अंकसहित समूह उविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । सिंगापुर र मलेसिया भने समूहगत चरणबाटै घर फर्किने निश्चित भइसकेको छ । यी दुबै टोलीले अघिल्ला दुई खेलमै पराजय भोगेका थिए ।

सेमिफाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ । यूएईले बिहीबार समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङलाई २२ रनले पराजित गरेको हो । सेमिफाइनलमा ओमानको प्रतिद्वन्द्वीको टुंगो लाग्न बाँकी छ ।

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान बनाउने छन् । टी—२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् ।