भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा खोज तथा उद्धारका लागि ३६७ सशस्त्र प्रहरी परिचालन

 

१८, कात्तिक काठमाडौं । भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुममा खोज तथा उद्धारका लागि ३६७ जना सशस्त्र प्रहरी परिचालन भएका छन् । शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा ९५ र पश्चिम रुकुममा ३७ जना गरी १३२ जनाको मृत्यु भएको छ भने १५५ जनाको उद्धार गरिएको छ ।

भूकम्पमा परेकाहरुको खोज तथा उद्धारका लागि जाजरकोटमा ६ नम्बर महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट डा। निश्चल घिमिरेको कमाण्डमा चार जना मेडिकल टोली खटिएको छ । ३२ नम्बर गण सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७० जना, ४२ नम्बर रिजर्भ गण बाँकेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २२ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित २५ जना र आश्रित गुल्म जाजरकोटबाट ७० तथा आश्रित गुल्म दैलेखबाट २५ जना गरी जम्मा १९४ जना सशस्त्र प्रहरी आवश्यक उद्धार सामग्रीसहित खटिएको छ ।

पश्चिम रुकुममा नेपाल एपीएफ अस्पतालबाट प्रा। सशस्त्र प्रहरी नायब उपरीक्षक डा.रोशन पराजुलीको कमाण्डमा ९ जना खटिएका छन् । २९ नम्बर ज्वालामाई गण दाङबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २१ जना, ४७ नम्बर गुल्म पश्चिम रुकुमबाट १०७ जना, आश्रित गुल्म पूर्वी रुकुमबाट दुई जना विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित ११ जना, आश्रित गुल्म सल्यानबाट २५ जना गरी जम्मा १७३ जना सशस्त्र प्रहरी परिचालन भएका छन् ।

अन्य युनिटमा समेत परिचालनको लागि तयारी हालतमा राखिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।