इजरायलमा हमास समूहको आक्रमणमा मारिएका थप एक विद्यार्थीको शव आज नेपाल ल्याइयो

१८ कात्तिक, काठमाडौं । दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप एकजना नेपाली विद्यार्थीको शव आज केही समयअघि नेपाल ल्याइएको छ ।

फ्लाइ दुवईको विमानमार्फत आज दिउँसो २ बजे सल्यान सारदा–३ का प्रवेश भण्डारीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । उनले भने, आज रातिसम्ममा डोटी लामिखाल–८ का पदम थापाको शव आइपुग्नेछ ।

दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना विद्यार्थीमध्ये अहिलेसम्म नौजनाको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन छन् ।

केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।