धनगढीमा आगलमगी हुँदा करोडौं बराबरको क्षती

काठमाडौं । कैलालीको धनगढीमा आज (शनिबार) बिहान भएको आगलागीबाट १७ करोड ९७ लाख २० हजार रुपियाँ बराबरको क्षति भएको छ ।

धनगढी उपमहानगरपालिका–१ मा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर (जुत्ताचप्पलको होलसेल गोदाम) मा लागेको आगो अरुतिर पनि सल्केको थियो । राति करिब १ बजेतिर विद्युत् सर्ट भएर लागेको आगलागीबाट सो गोदामसहित अस्पताल र अन्य पसलमा क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट सारथी अस्पताल प्रालिको पाँच करोड ५० लाख, गरिमा पोलिक्लिनिकको ३० लाख, सुविधा इन्टरप्राइजेजको एक करोड ३० लाख रुपियाँ बराबरको मालसामान नष्ट भएको छ । यस्तै, भट्ट सप्लायर्सको ७० लाख, भण्डारी सु सेन्टरको ५० लाख, भण्डारी जनरल स्टोरको चार करोड २५ लाख, मधुमाला कनेक्सनको ६० लाख रुपियाँ बराबरको क्षति भएको छ ।

यसैगरी, सुभिच्छा बेबी सपको ९० लाख, खाद्य व्यापार तथा कम्पनी लिमिटेडको चार करोड रुपियाँ बराबरको गोदामको भौतिक संरचना र गोदाममा कार्यरत कर्मचारीको दुई लाख २० हजार रुपियाँ बराबरको स्कुटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।

विद्युत् तार सर्ट भएर भीषण आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेनाको टोली आगो निभाउनका लागि खटेको थियो । यसैगरी, आगो निभाउन धनगढी उपमहानगरपालिकाको दुई, गोदावरी नगरपालिकाको एक र पुनर्वास नगरपालिकाको एक गरी चार वटा दमकल प्रयोग गरिएको थियो ।