टिकटक बन्द गर्ने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि  दुरसञ्चार प्राधिकरणले गर्यो प्राविधिक समिति गठन

काठमाडौं । नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्यन गर्नका लागि नेपाल दुरसञ्चार प्राधिकरणले निर्देशक विजयकुमार रायको नेतृत्वमा ४ सदस्यीय प्राविधिक समिति गठन गरेको छ ।

दूरसञ्चार प्राधिकरणको शुक्रबार बसेको बैठकले प्राविधिक समितिको सदस्यमा इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आएस्पान)का अध्यक्ष सुधीर पराजुली, नेपाल सरकार सञ्चार मन्त्रालयका प्रतिनिधि र सदस्य सचिवमा प्राधिकरणकी रोजाकिरण बासुकला रहेका छन् ।

गठन गरिएको उक्त प्राविधिक समितिले ७ दिनभित्र टिकटक बन्द गरे नगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरी टिकटक कुन कुन आइएसपीले प्रतिबन्द लगाय , टिकटिकमा प्रतिबन्द लगाउदा कुन कुन समस्याहरु आइरहेका छन् जस्ता विषयमा रिपोर्ट पेश गर्ने संयोजक विजयकुमार रायले जानकारी दिए ।

यसअघि शुक्रबार नै प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न टिकटकलाई समेत आग्रह गरेको छ । सरकारले २७ कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले टिकटकलाई पत्र लेखेर सरकारको निर्णय जानकारी गराएको थियो ।

प्राधिकरणले शुक्रबार टिकटकलाई अर्को पत्र पनि पठाएर टिकटकमा प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयनमा सहयोगका लागि आग्रह गरिएको छ ।