भूकम्प प्रभावित क्षेत्रहरुमा त्रिपालमुनि र खुला ठाउँहरुमा सोमबारदेखि पठनपाठन सुरु

काठमाडैं । भूकम्प प्रभावित जाजरकोटको नलगाड नगरपालिका–८, हल्चौरस्थित पञ्चभयार माध्यामिक विद्यालयमा सोमबारदेखि पठनपाठन सुरु भएको छ ।

कात्तिक १७ गते रातिको भूकम्पले विद्यालय भवनमा क्षति पुगेपछि केही विद्यार्थीहरुलाई त्रिपालमुनि र केहीलाई खुलाचौरमै राखेर पढाउन थालिएको शिक्षक वीरबहादुर खत्रीले जानकारी दिए ।

‘विद्यालयको एउटा भवन भत्किएको छ, अरु सबै भवनहरु चर्किएका छन्’, शिक्षक खत्रीले भने, ‘भित्र राखेर पढाउन सक्ने स्थिति छैन । एउटा संस्थाले दिएको दुईरचार वटा पालले नपुगेपछि कसैलाई पालभित्र, कसैलाई बाहिरै राखेर पढान थालेका छौं ।’ भूकम्पले विद्यालय पूर्णरुपमा क्षतिग्रस्त छ ।

जाजरकोटको रामीडाँडा केन्दविन्दु भएर गएको ६।४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट र रुकुम पूर्वका अधिकांश विद्यालयमा क्षति पुगेका छन् । धेरैजसोको भवन भत्केका छन् भने केहीको भवन चर्केकाले कक्षाकोठाभित्र विद्यार्थी राख्न सक्ने अवस्था नभएको शिक्षकहरु बताउँछन् ।

सोमबारदेखि नै पढाइ सञ्चालन गर्नुपर्ने भए पनि भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमका विद्यालयहरूमा कतै त्रिपालमुनि त कतै खुला चौरमा विद्यार्थी राखेर पढाउन थालेका छन् ।

जिल्ला विपद व्यवस्थापन समिति जाजरकोटको शनिबार बसेको बैठकले भूकम्पबाट आंशिक क्षति भएका विद्यालयको पठनपाठन सम्बन्धित स्थानीय तह र विद्यालय व्यवस्थापन समितिको समन्वयमा गर्ने निर्णय गरेको छ । सोहीअनुसार स्थानीय तहहरूले पनि विद्यालय सञ्चालनको विषयमा छलफल चलाएका छन् ।

भूकम्पले बढी क्षति पु¥याएको जाजरकोटको भेरी नगरपालिका र नलगाड नगरपालिकाले जोखिममा रहेका विद्यालयमा सुरक्षित स्थान छनौट गरी कक्षा संचालन गर्ने निर्णय गरेका छन् ।

भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले विद्यालयहरूलाई पालिकासँगको समन्वयमा पठनपाठन सञ्चालन गर्न भनिएको बताए । उनका अनुसार, भेरी नगरपालिकामा ५६ वटा विद्यालयमा १२ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् ।

नलगाड नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बलवीर विकले सोमबारदेखि नै सबै विद्यालयमा पठन पाठन सुरु गर्न लागेको बताए । उनका अनुसार, अति जोखिम भएका विद्यालयमा प्रशासन खोलेर सिकाइ केन्द्र स्थापना गर्ने काम सम्पन्न भएपश्चात मात्र पठनपाठन सुरु गरिने छ ।

जाजरकोटको कुशे गाउँपालिकाले सोमबारदेखि नै विद्यालय चलाउने निर्णय गरेको छ । ‘जोखिममा रहेका विद्यालयहरूले तत्कालका लागि नजिकको सुरक्षित स्थानमा कक्षा चलाउने निर्णय भएको छ’, गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले भने ।

कुशे गाउँपालिकामा ५५ वटा विद्यालय छन् । तिनमा कम्तीमा ९ हजार जना विद्यार्थी रहेकोे अध्यक्ष बस्नेतले बताए ।

भूकम्पबाट जिल्लाभरमा २८९ वटा विद्यालयहरूमा पूर्ण क्षति पुगेको प्रारम्भिक विवरण आएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । उनका अनुसार ती विद्यालयहरूमा अस्थायी सिकाइ केन्द्र निर्माणका लागि सरोकारवाला निकायसँग समन्वयको प्रक्रिया सुरु भएको छ ।

रुकुमपश्चिमको आठविसकोट नगरपालिकाले अस्थायी टहराबाट पठनपाठन सुरु गर्ने जनाएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख इन्द्रबहादुर विष्टका अनुसार, विभिन्न दातृ निकायको सहयोगमा निर्माण गरिएका अस्थायी टहराबाट नगर क्षेत्रमा रहेका सम्पूर्ण विद्यालयमा पठपाठन सुरु गर्न लागिएको छ ।

आठविसमा ६४ वटा विद्यालय रहेकामा ५२ वटा विद्यालयमा क्षति पुगेको छ । २५२ वटा कक्षाकोठामा क्षति पुगेको छ ।