बन्दी बनाएका आफ्ना ५० जना नागरिकलार्ई रिहा गराउन हमाससँग इजरायलको सहमती

काठमाडौं । इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा गाजामा बन्दी बनाएका ५० जनालाई रिहा गर्ने सहमति भएको छ ।

बुधबार बिहानसम्म चलेको लामो बैठकपछि इजरायलको मन्त्रिपरिषद्ले हमाससंगको सम्झौतालाई अनुमोदन गरेको हो । इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ इजरायल सरकार सबै बन्धकहरुलाई घर फर्काउनका लागि प्रतिबद्ध छ ।

महिला र बालबालिका गरी ५० बन्धक चार दिनभित्र रिहा हुने र यसक्रममा लडाइ रोकिने समेत जनाईएको छ । त्यसको बदलामा इजरायलले १ सय ५० जना प्यालेस्टायनी कैदीहरुलाई छोड्नु पर्ने बताइएको छ ।

इजरायली सेनाका अनुसार उनीहरुले उत्तरम जबालियालाई घेरेका छन् । गाजामा इजरायली सेनाले गरेको सैन्य कारवाहीमा हालसम्म ५ हजार बालबालिका सहित १४ हजारभन्दा बढी मानिस मारिएका छन् ।

यसैगरी हमासले इजराइलमा गरेको आक्रमणमा परी १ हजार २ सय जनाको मृत्यु हुनुका साथै २ सयभन्दा बढीलाई बन्धक बनाइएको छ ।