ओलीले चुनाव गराउँदै गराउँदैनन् लेखेर राखे हुन्छ डा भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपाल संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगराउन चालबाझीमा लाग्ने आरोप लगाएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा भंग गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरिएको थियो तर डा भट्टराईले चुनाव नगराउन र लामो समय पदमा टिकिराख्न यसो गरेको दाबी गरेका छन् ।

विकसित राजनीतिक अवस्थामा संसद विघटनको विरोधमा रहेका राजनीतिक दलबीच बुधवार काठमाडौंमा गरिएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै डा भट्टराईले भनेका छन् चुनाव भए पो चुनाव लड्नुहुन्छ । लेखेर राख्नुस्, केपी शर्मा ओलीले चुनाव गराउँदै गराउँदैनन् । भन्दै उनले ओलीमाथि आरोप लगाए ।नेपाली कांग्रेसका कतिपय नेताहरूले घोषित चुनावमा सहभागी हुनुपर्ने र चुनावको तयारी गर्नुपर्ने अभिव्यक्ति दिइरहेका बेला डा भट्टराईले चुनाव नहुने तर्क गरेपछि राजनीति तरङ्गित भएको छ ।

संसद् विघटनको विरोधमा रहेका नेकपा प्रचण्ड–नेपाल पक्ष, नेपाली कांग्रेस र जसपाबीच संयुक्त आन्दोलनमा सहकार्य हुन नसक्नुको कारण पनि नेकपा नै रहेको भट्टराईले बताएका छन् ।उनले ओलीसँग कुरा नमिल्दा प्रचण्ड–नेपालहरूले सहकार्य गर्न खोजेपनि फेरि ओलीसँग कुरा मिल्दा आन्दोलन अलपत्र छाडेर जानसक्ने आशंका समेत व्यक्त गरे । भट्टराईले प्रचण्डमाथि पनि विश्वास गरिहाल्ने ठाउँ नरहेको बताएका छन् ।