सरकारले संसद र समिति सञ्चालन गर्न बजेट विनियोजनमा नियन्त्रण गर्‍यो : सभामुख

 

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद र समितिका कामकारबाही अतिरिक्त समयमा सञ्चालन गर्नका लागि सरकारले बजेट विनियोजनमा नियन्त्रण गरेको बताउनुभयो ।

आज (सोमबार) संसदीय समितिका सभापतिहरुसँग समितिको कामकारबाहीलाई अघि बढाउने बारे सिंहदरबारमा छलफल गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसद र संसदीय समितिको बैठक कार्यालय समयमै राख्न अर्थमन्त्री डा।प्रकाशशरण महतले आग्रह गर्नुभएको बताउनु भयो ।

सभामुख घिमिरेले नियमित समय बाहेक बैठक राख्दा कर्मचारीहरुलाई अतिरिक्त सुविधा नदिएको गुनासो कर्मचारीहरुले गरेको जानकारी दिनुभयो । उहाँले विगतमा संसदलाई विभिन्न विदेशी एवम् दातृ निकायहरुबाट सहयोग प्राप्त हुने भए पनि पछिल्लो समय सहयोग घट्दै गएको र कतिपय सहयोग नेपालका लागि उपयुक्त नभएकाले पनि कम बन्दै गएको बताउनुभयो ।

उहाँले संसदीय गतिविधि अघि बढाउन आर्थिक पोटोलाई अर्थमन्त्री डा। महतले नियन्त्रण गर्नुभएको बताउनु भयो । बजेटको अभावमा सभा प्रभावकारी हुन नसकेको र सरकारले संसदलाई चलायमान र प्रभावकारी बनाउन आवश्यक बजेट विनियोजन गर्नुपर्ने औंल्याउनुभयो । सभामुख घिमिरेले विगतका बैठकमा कर्मचारीहरुलाई अतिरिक्त समयको भत्ता दिन नसकेको भन्दै यसलाई व्यवस्थित नगर्ने हो भने संसद र संसदीय समिति चल्न कठिन रहेको बताउनु भयो ।

सभामुख घिमिरेले संसदीय समितिहरुमा विषयवस्तु दोहोरिने र कार्यक्षेत्र स्पष्ट नहुने समस्या रहेको भन्दै आवश्यक समिति सभापतिहरुले समन्वय गर्नुपर्ने बताउनुभयो । उहाँले कार्यक्षेत्र र विषयवस्तुमा समस्या भए छलफल गरी समाधान गर्नुपर्नेमा सोच्न समिति सभापतिहरुलाई निर्देशन दिनुभयो ।

सभामुख घिमिरेले समिति बनेको पाँच महिना बितिसक्दासमेत समितिको कार्यक्षेत्र स्पष्ट नभएकोमा आपसी समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।