उत्तराखण्ड : आज १७ औं दिन पुगिसक्दा पनि हुन सकेन सुरुङ्मा फसेका मजदुरहरुको उद्धार

काठमाडौं । आज १७ औं दिन पुगिसक्दा पनि भारतको उत्तराखण्डको सिलक्यारा सुरुङमा फसेको मजदुरहरुलाई अझै उद्धार गर्न सकिएको छैन ।

मेसिनबाट उद्धारको काम प्रभावित नभएपछि अहिले हातैले खनेर उद्धारको प्रयास भइरहेको भारतीय मिडियाहरुले जानकारी गराएका छन् ।

सिलक्यारामा सुरुङ निर्माण खन्ने क्रममा १२ नोभेम्बरको दिन एक भाग भत्किएर त्यहाँ भित्र काम गरिरहेका ४१ जना मजदुर फसिरहेका छन् । उनीहरुलाई सानो पाइपको माध्यमबाट खाना, पानी र औषधि भने पठाइएको छ । उनीहरुलाई बाहिर निकाल्न ठाडो र तेर्सो खनेर पाइप घुसाउने काम भइरहेको छ ।

यसअघि मजदुरहरुलाई उद्धारका लागि जमिनभित्र पाइप पुर्याउन ओगर मेसिनले ड्रिल गर्न सुरु गरिएको थियो । तर जमिन खन्ने मेसिन नै भाँचिएपछि उद्धारकार्य प्रभावित भएको थियो ।

भाँचिएको भाग काटेर निकालेपछि अहिले हातैले खनेर मान्छे छिर्ने पाइप सुरुङभित्र घुसाउने प्रयास भइरहेको छ ।

भारतका मौसमविदले पानी पर्ने प्रक्षेपण सार्वजनिक गरेकाले उद्धारको काम प्रभावित हुने हो कि भन्ने चिन्ता थपिएको सम्बन्धित सरोकारवालाहरुले बताएका छन ।

प्रधानमन्त्री नरेन्द्र मोदीले उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएनु भयो । उहाँले सुरुङभित्र १७ दिनदेखि थुनिएका मजदुरहरुका लागि देवीदेवताहरुसँग प्रार्थना गरेको भन्दै ट्वीट पनि गरेका छन् ।