रुकुम पश्चिमको सोती घटनाको मुद्दामाआजबाट निरन्तर सुनुवाइ हुने : रुकुम अदालत प्रशासन

काठमाडौं । अन्तरजातीय विवाहको विषयमा तीन वर्षअघि रुकुम पश्चिमको सोती गाउँमा नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बन्धित मुद्दामा आज जिल्ला अदालतमा सुनुवाइ हुँदै छ । यो मुद्दामा आजदेखि निरन्तर सुनुवाइ सुरु हुने रुकुम पश्चिम अदालत प्रशासनले जनाएको छ ।

आज सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गर्नेछन् । त्यसप्रति प्रतिवादीहरुका तर्फबाट बहस भएपछि अदालतले फैसला सुनाउने छ ।

घटना २०७७ जेठ १० गते जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विकले मल्ल थरकी युवती सुष्मालाई बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुग्दा गाउँलेले लखेटेर ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए । शवहरु भेरी नदीमा भेटिएका थिए ।

अन्तरजातीय विवाहको विषयलाई लिएर भएको यो घटनामा संलग्न भएको आरोपमा चौरजहारी नगरपालिका–८ सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत अभियोगमा मुद्दा दायर भएको थियो । घटनाका २३ जना आरोपी पुर्पक्षका लागि कारागारमा छन् भने ११ जनालाई भने तारेखमा छाडिएको थियो ।