काठमाडौं महानगर क्षेत्रभित्रका फार्मेसी सुधार गर्न १० दिनको समय

Pharmacist holding medicine box and capsule pack in pharmacy drugstore.

काठमाडौं । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले महानगरभित्र सञ्चालित फार्मेसी व्यवसायीहरूलाई फार्मेसी सुधारका लागि १० दिनको समय दिएको छ ।

महानगरपालिले मङ्गलबार सूचना निकाल्दै महानगरपालिका भित्र सञ्चालनमा रहेका फार्मेसीहरू नियम अनुसार नचलेको, गुड फार्मेसी प्राक्टिस नभएको, चिकित्सकको प्रेस्किप्सन बिना औषधि बिक्री वितरण भइरहेको पाइएकाले फार्मेसी सुधारका लागि १० दिनको समय दिएको महानगरले जनाएको छ ।

तोकिएको समयमा व्यवसायीहरूले फार्मेसी सुधार नगरेमा फार्मेसी बन्द गर्नेसम्मको कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ ।
महानगरपालिकाले अनाधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि समेत बिक्री वितरण भएका, चिकित्सकको प्रेस्किप्सन बिना औषधि बिक्री वितरण भइरहेको, नार्कोटिक औषधिहरूको प्रचलित ऐन कानुन अनुसार बिक्री वितरण नगरिएको र उक्त औषधिको आवश्यक अभिलेख नराखेको पाएको छ ।

यसैगरी, फार्मेसीहरू नियम अनुसार नचलेको, महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत नलिई सञ्चालनमा रहका विभिन्न गुनासाहरू आम उपभोक्ताबाट आइरहेको र अनुगमन गर्दा समेत उल्लेख भए अनुसार नपाइएकाले सूचना प्रकाशन गरेको मितिले १० दिनमाथि उल्लेखित सम्पूर्ण कार्य कानुन बमोजिम गर्न आग्रह गरेको छ ।

दिइएको समय भित्र सुधारात्मक कार्यहरू नगरेमा महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११(झ) ९ तथा काठमाडौँ महानगरपालिका जन स्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन भई काठमाडौँ महानगरपालिका जन स्वास्थ्य ऐन २०८० को दफा ३५ अनुसार औषधि पसल बन्द गर्नेसम्मको कारबाही गरिने महानगरले जनाएको छ ।