सरकारको ध्यान शासकीय प्रणाली सुधारमा केन्द्रित छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । आज (बुधबार) ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको ध्यान शासकीय प्रणालीमा सुधार गर्ने कुरामा केन्द्रित रहेको बताउनु भएको छ ।

उहाँले समग्र शासकीय प्रणालीमा सुधार गरेर अघि बढ्ने सरकारको सोच रहेको बताउनुभयो । शासकीय प्रणालीमा समग्र सुधारका लागि सरकारले शासकीय सुधार आयोग निर्माण गरेर अघि बढ्ने तयारी गरिरहेको पनि बताउनु उहाँले बताउनुभयो ।

जनताले प्रत्यक्ष रूपमा आफूलाई सेवा प्राप्त भएको अनुभूत गरेन भने सरकारप्रति पनि, राजनीतिक दलहरूप्रति पनि र हाम्रो कर्मचारीतन्त्रप्रति पनि जनताको भरोसा कमजोर हुँदै जाने, विश्वास टुट्दै जाने भएकाले सबैको हितमा रहेर काम गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

उहाँले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आमूल परिवर्तनकारी सोचका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले जनतामा उत्साह आउने गरी परिणाममुखी काम गर्न पनि मातहतका सबै निकायलाई सचेत गराउनु भयो ।

विगतका तमाम कामहरूको योगदानको कुल योगफलले के देखाउँछ भने हामीले कहीँ न कहीँ रेडिकल्ली सोच्नुपर्ने हुन्छ । त्यसका लागि आफू परिवर्तनको दिशातिर जानुपर्ने हुन्छ । आउने वर्षहरूमा ती कुराहरूमा हामीले गुणात्मक सुधारका उपायहरूको खोजी गर्न जरुरी रहेको उहाँको भनाइ छ ।