अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु : जाजरकोट भूकम्प

काठमाडौं । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा चार हजार दुई सय ८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।

आठबिसकोटमा सात हजार लाभग्राही थिए । लाभग्राहीको खातामा रु. २५ हजारका दरले पहिलो किस्ताबापतको रकम जम्मा भएको छ । अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापत रु. २५ हजारका दरले लाभग्राहीलाई रु. १० करोड ७० लाख ५० हजार खातामा पठाएको आठबिसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जनाएका छन् । शाहका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट भने सात हजार लाभग्राहीका लागि पहिलो किस्ताबापत रु. १७ करोड ५० लाख रकम प्राप्त भएको छ । जिल्ला विपद् व्यवस्थापन कोषबाट प्राप्त भएको बाँकी रकम पनि लाभग्राहीको बैंकमा खाता सञ्चालन हुने बित्तिकै पठाइने शाहले जनाएको छन् ।

नगरपालिकामा अस्थायी आवास निर्माण गर्न नौ हजार नौ सय ६२ लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्ला विपद् व्यस्थापन कोषबाट पहिलो किस्ताबापत अझै दुई हजार नौ सय ६२ लाभग्राहीको लागि रकम आउन बाँकी रहेको प्रशासकीय अधिकृत शाहले जनाएका छन् ।

जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय जोखिम न्यूनीकरण कोषमा प्राप्त भएको रकम बैंक खाता सञ्चालन भएका लाभग्राहीलाई धमाधम रकम पठाउने काम भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार हालसम्म नगरपालिकामा दुई हजार दुई सय ४० अस्थायी आवास निर्माण सम्पन्न भइसकेको र बाँकी तिन हजार छ सय ९० अस्थायी आवास निर्माणको चरणमा रहेकोे छ । रासस