आम्दानी र खर्चमा वृद्धि, सरकारी कोषमा सुधार

काठमाडौं । खुम्चँदो राजस्व र कमजोर खर्चका कारण दबाबमा परेको सरकारी कोषमा सुधार देखिएको छ । चालु आर्थिक वर्षकै पहिलो तीन महिना गत आवको सोही अवधिको तुलनामा कम राजस्व सङ्कलन र खर्च भएको अवस्थाबाट क्रमिक सुधार देखिएको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार मङ्सिरसम्म सरकारले लक्ष्यको २५.५५ प्रतिशत अर्थात् तीन खर्ब ६३ अर्ब ४२ करोड रुपियाँ सङ्कलन गरेको छ जुन २०७९ मङ्सिर मसान्तको तुलनामा साढे ३६ अर्ब रुपियाँले बढी हो । गत वर्ष मङ्सिर मसान्तसम्म सरकारले तीन खर्ब २६ अर्ब ८९ करोड रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।

चालु आवको मङ्सिरसम्म सरकारले तीन खर्ब ३७ अर्ब १८ करोड रुपियाँ कर राजस्व र २६ अर्ब २४ करोड रुपियाँ कर राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस अवधिमा सरकारले दुई अर्ब ७५ करोड रुपियाँ अनुदान प्राप्त गरेको छ भने अन्य प्राप्ति शीर्षकमा १७ अर्ब ७३ करोड रुपियाँ आम्दानी गरेको छ । राजस्व, अनुदान र अन्य प्राप्तिसहित सरकारले मङ्सिरसम्म कुल तीन खर्ब ८३ अर्ब ९२ करोड रुपियाँ आम्दानी गरेको कार्यालयले जनाएको छ । जुन कुल लक्ष्यको २६.०७ प्रतिशत हुन आउँछ । गत वर्ष मङ्सिरसम्म सरकारको कुल आम्दानी तीन खर्ब ५७ अर्ब ८२ करोड रुपियाँ थियो । जुन कुल लक्ष्यको २४.५३ प्रतिशत हो ।

यस्तै विनियोजित बजेट खर्च गर्न नसकेर आरोप खेपिरहेको सरकारले आफ्नो खर्च बढाएको छ । चालु आवको मङ्सिरसम्म सरकारले कुल चार खर्ब ५२ अर्ब ९९ करोड रुपियाँ खर्च गरेको छ जुन लक्ष्यको २५.८७ प्रतिशत हो । चालु आवमा सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँ खर्च गर्ने लक्ष्य राखेको छ । गत आवको समीक्षा अवधिसम्म सरकारको कुल खर्च चार खर्ब ३५ अर्ब २१ करोड रुपियाँ खर्च गरेको थियो जुन सो वर्षको लक्ष्यको २४.२६ प्रतिशत मात्र थियो ।

चालु आवमा सरकारले चालुतर्फ तीन खर्ब ५९ अर्ब ९९ करोड रुपियाँ खर्च गरेको छ जुन कुल चालु खर्चको लक्ष्यको ३१.५३ प्रतिशत हो ।
मङ्सिरसम्म सरकारले ३६ अर्ब छ करोड रुपियाँ पुँजीगत खर्च गरेको छ जुन लक्ष्यको करिब १२ प्रतिशत हो । गत वर्ष सोही अवधिसम्म सरकारको पँुजीगत खर्च करिब नौ प्रतिशत थियो । यसबिचमा सरकारले कुल लक्ष्यको १८.५२ प्रतिशत अर्थात् ५६ अर्ब ९३ करोड रुपियाँ वित्तीय खर्च गरेको छ । आम्दानीको तुलनामा सरकारको कुल खर्च भने करिब ६९ अर्ब रुपियाँले बढी छ ।