सिन्धुलीमा प्रभावकारी बन्दै ‘एक विद्यालय, एक नर्स कार्यक्रम’

काठमाडौं । बागमती प्रदेश सरकारले सञ्चालन गरेको सिन्धुली जिल्लाका विभिन्न सामुदायिक माध्यमिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ ।

बागमती प्रदेश सरकारले विद्यालमै नर्स पठाएर स्वास्थ्य सेवा दिएसँगै विद्यार्थीहरु सामान्य स्वास्थ्य जाँच र औषधिका लागि अन्यत्र जानु पर्ने बाध्यताबाट मुक्त भएका छन् भने विद्यालयमै सामान्य स्वास्थ्य सेवासहित पढ्न पाउदा विद्यार्थीहरु पनि खुशी पनि देखिन्छन् ।

उक्त कार्यक्रम जिल्लामा २०७५ सालमा कमलामाई नगरपालिका–५ स्थित जनज्योती मावि फोस्रेटारमा नमुना परीक्षणका लागि सञ्चालन गरी सुरु गरिएको थियो ।

‘एक विद्यालय, एक नर्स कार्यक्रम’ कार्यक्रम प्रभावकारी बनेपछि वर्षेनी विस्तार गरी यो वर्षसम्म ३९ वटा सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन भएको शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले जनाएको छ । कार्यालय प्रमुख निर्मल घिमिरेले उक्त कार्यक्रम बढी मात्रामा छात्राहरुको लागि प्रभावकारी देखिएको बताउनुहुन्छ ।

“यो कार्यक्रम विशेषगरी महिनावारी हुने बेला भएका छात्राहरुलार्य राम्रो छ,“ उहाँले भन्नुभयो, “स्टाफ नर्स भएपछि उनीहरुले आफ्ना समस्या खुलेर राख्न पाएका छन् । स्यानेटरी प्याड विद्यालयमै पाउँछन् । महिनावारी हुने बेलामा त्यस्ता छात्राहरु विद्यालय नआउने समस्या थियो । स्टाफ नर्स भएको विद्यालयमा एउटा छुट्टै आराम गर्ने कोठा पनि हुन्छ । त्यसले गर्दा छोरीहरुको विद्यालय आउने क्रम बढेको छ ।

दुधौली नगरपालिका–११ स्थित कमला मावि मैनीका अप्रधानाध्यापक राजेश्वर यादव पनि विद्यालयमा नर्सको व्यवस्था भएसँगै विद्यार्थीहरुलाई धेरै सजिलो भएको बताउनुहुन्छ ।

उहाँका अनुसार नर्सको व्यवस्था भएपछि छात्रा महिनावारी भएको बेला तीन–चार दिन विद्यालय नआउने क्रम रोकिएको छ । नर्सले प्रत्येक दिन विहान १० बजेदेखि ४ बजेसम्म र आवश्यक परेको बेलामा अन्य समयमा पनि विद्यार्थीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम हुँदै आएको छ । उक्त कार्यक्रम सञ्चालन भएको विद्यालयमा विद्यार्थीले स्वास्थ्य जाँचको सुविधा विद्यालयमा पाउन थालेपछि अभिभावकसमेत उक्त कार्यक्रमप्रति आकर्षित देखिएको उहाँले बताउनुभयो ।

जनज्योति मावि फोस्रेटारमा कार्यरत स्टाफ नर्स सन्ध्या ढकालका अनुसार उक्त विद्यालयमा प्रत्येक तीन महिनामा बालबालिकाको स्वास्थ्य जाँच गरिन्छ । वर्षमा तीन पटकसम्म आँखा, मुख र कानको परीक्षण र सिकाइमा विशेष समस्या भएका विद्यार्थीहरुको शारीरिक, मानसिक र संवेगात्मक अवस्थाको परीक्षण गर्ने गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यालयमा सात सयभन्दा बढी त छात्रा भएकाले महिनावारीको समस्या धेरै देखापरेको छ । छात्राहरु महिनावारी गडबडी, तल्लो पेट दुख्ने, रगत धेरै बग्ने लगायतका समस्या लिएर आउने गरेका छन् । विद्यार्थीहरु पनि अहिले आफैँ सचेत भएका छन् ।

नर्सको व्यवस्थासँगै प्याड वितरण, सरसफाइ, मासहिस्टेरिया जस्ता समस्या समाधान भएको विद्यालयहरुले जनाएको छन् ।