भोजपुरमा निर्माणाधीन पक्की पुल भत्कियो

भोजपुर ।  भोजपुरमा निमार्णधीन पक्की पुलको संरचना भत्किएको छ।
षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवा खोलामा बन्दै गरेको पक्की पुल बिहीबार बिहान भत्किएको हो।
‘बन्दाबन्दैको पक्की पुल भत्किएको हो। पुल भत्किएर मानवीय क्षतिचाहिँ भएको छैन,’ षडानन्द नगरपालिकाका प्रमुख सुरेशकुमार उदासले सेतोपाटीसँग भने।
उनले पुल ढलान गर्नका लागि तयार पारिएको संरचना भत्किएको बताए।

‘खोला फर्काएर टेको लगाएर फर्मा ठोकिएको थियो। त्यसमाथि फलामका छडहरू बाँध्ने काम भइरहेको थियो। आज बिहान अचानक भत्कियो। के कारणले भत्किएको हो भनेर जाँचबुझको काम भइरहेको छ,’ उनले भने।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८र०७९मा उक्त पुल ठेक्का लगाएर बनाउन थालिएको पनि उनले बताए। उक्त पुल दिव्यज्योति धनञ्जय जेभीले बनाइरहेको हो। पुलको लागत ६ करोड ३० लाख रूपैयाँ रहेको पनि उनले बताए।