युवा विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताएका छन् । काठमाडौं महानगरपालिकाद्वारा मंगलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताएका हुन् ।
युवा विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार राष्ट्रपति

‘अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने र विद्यार्थीमा अभिवृत्ति, सिप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन्,’ राष्ट्रपति पौडेलले भने । शिक्षण सिकाइ विद्यार्थीका लागि शरीरमा मुटुजस्तै र शिक्षण सिकाइमा खेलकुदको समाविष्टता स्वनिर्भरता र सशक्तीकरणको प्राण भएको बताए । उनले भने, ‘खेलकुदकै माध्यमले युवा विद्यार्थीले आफ्नो आत्मविश्वास, सकारात्मक अनुभूति र अन्तरनिहीत प्रतिभाको विकास गर्न सक्छन् । खेलकुद क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तीन तहबाट यसमा यथेष्ठ प्रयत्नहरु होउन् भनेर म सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।’