भ्यु टावरमा लगानी, शून्य उपलब्धि

घोराही। तीन वर्षअघि बङ्गलाचुली गाउँपालिका–२, धिमधिमे लेकमा भ्यु टावर निर्माण गरियो । प्रदेश सरकारको करिब एक करोड २६ लाख रुपियाँ लागतमा तीनतले भ्यु टावरसँगै चार वटा शौचालय, पानीका ट्याङ्कीलगायतका संरचना निर्माण गरिएका थिए । यतिबेला ती संरचना अलपत्र अवस्थामा छन् । भ्यु टावर र शौचालय काम नलाग्ने अवस्थामा रहेको बङ्गलाचुली गाउँपालिका–२ का अध्यक्ष मैते पुन बताउँछन् । गाउँबस्तीदेखि निकै टाढा रहेकाले संरक्षणमा कसैले चासो नदिँदा आल्मुनियमका ढोका र खानेपानीको ट्याङ्की अज्ञात व्यक्तिले फोरेर फालेको उनले बताए।

भ्यु टावरलगायत संरचनाहरू निर्माण भए पनि त्यसको संरक्षण र उपलब्धिका लागि चासो नदिँदा करोडौँ रुपियाँ लागतको भ्यु टावर उपलब्धिविहीन जस्तै भएको वडा अध्यक्ष पुन बताउँछन् ।

भ्यु टावर निर्माणस्थलमा बनाइएका संरक्षण तोडफोड हुन थालेपछि समिति बनाएर संरक्षणमा लागेको उनी बताउँछन् । उनले भने, “जनप्रतिनिधि हुनुभन्दा पहिले भ्यु टावर निर्माण स्थलमा बनेका संरचना तोडफोड भएका छन् । अहिले समिति गठन गरेर संरक्षणमा लागेको छु ।”

बङ्गलाचुली गाउँपालिका–८, हाँसीपुरस्थित रानीथुम्की पहाडमा निर्माण गरिएको भ्यु टावर प्रयोगविहीन जस्तै भएको छ । प्रदेश सरकारको ६० लाख लागतमा जङ्गलको बिचको अग्लो पहाडमा भ्यु टावर निर्माण गरिएको छ ।

सो भ्यु टावरबाट सफा मौसम भएका बेला उत्तरतर्फका हिमशृङ्खलासँगै दक्षिण भारतसम्मको भूभाग देख्न सकिने स्थानीय बताउँछन् तर त्यहाँसम्म पुग्ने बाटो नहुँदा प्रयोगमा आउन नसकेको स्थानीय वीरबहादुर गाहामगरले बताए।

स्थानीय गाहामगरले भने , “पर्यटन प्रवर्धनका दृष्टिले भ्यु टावर निर्माण गरिनु राम्रो हो तर स्थानीय आवश्यकतालाई ध्यान नदिँदा यस्ता भ्यु टावर प्रयोगविहीन जस्तै भएका छन् ।”

भ्यु टावरभन्दा बाटो, घुम्नलाई पार्क, पिउनलाई पानीको व्यवस्था गरिदिएको भए सायद मानिस आउँथे होला, उनले भने, “भ्यु टावर निर्माणसँगै आवश्यक पार्क, खानेपानी, बाटोलगायतका पूर्वाधारहरू निर्माण हुन नसक्दा भ्यु टावर निर्माणले सार्थकता पाउन सकेको छैन ।”

पछिल्लो समय भ्यु टावरसँगै हाँसीपुरमा मगर होमस्टेका रूपमा विकास गरेर आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षित गर्नेतर्फ लागेको उनले बताए। पर्यटन प्रवर्धन गर्न भन्दै करोडौँ रुपियाँ खर्चेर दाङका तीन वटा स्थानीय तहमा छ वटा भ्यु टावर निर्माण गरिएका छन् ।

तीन वटा भ्यु टावरमध्ये बङ्गलाचुली गाउँपालिका–५, बङ्गलाचुली भ्यु टावर र तुलसीपुर उपमहानगरपालिका–१९, छिल्लीकोटमा रहेको भ्यु टावर चढ्न र हेर्न मानिस जाने गरे पनि अन्य भ्यु टावर प्रयोगविहीन जस्तै अवस्थामा छन् ।

पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिए पनि सडक, यातायात, बाटो, पानीलगायतका आवश्यक पूर्वाधार निर्माण नहुँदा मानिसको रोजाइमा पर्न सकेका छैनन् । बङ्गलाचुली गाउँपालिका अन्तर्गत वडा नं। २, ५ र ८ मा निर्माण गरिएका तीन वटा भ्यु टावरको लागत दुई करोड रहेको छ । त्यसै गरी तुलसीपुर उपमहानगरपालिका–१९, छिल्लीकोटमा निर्माण गरिएको भ्यु टावरको लागत २५ लाख रहेकोे छ । भ्यु टावरले छिल्लीकोटको आकर्षण बढाए पनि आयआर्जनसँग जोड्न नसकेको छिल्लीकोट कालिकामालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परविर पुनले बताए ।

छिल्लीकोटका अधिकांश मन्दिरमा पूजापाठसँगै घुमफिरका लागि मानिस आउने गर्छन् । त्यसमध्ये कतिपय भ्यु टावरमा पनि चढ्ने गर्छन्, उनले भने । लमही नगरपालिका–५, अजम्बरी सामुदायिक वन हाताभित्र साढे दुई करोड रुपियाँ खर्च गरेर पाँचतले भ्यु टावर खडा गरिएको छ । स्थानीय निकायको बजेटबाट निर्माण सुरु भएको भ्यु टावर निर्माणको काम थालेको आठ वर्ष बितिसक्यो तर पूरा हुन नसकेको अजम्बरी सामुदायिक वन समूहका अध्यक्ष पवन रिजालले बताए ।

भ्यु टावर निर्माणको काम सुरु भएको आठ वर्ष बितिसकेको छ, तर पनि निर्माणकै अवस्थामा छ । आम्दानी हुने कुरै भएन, उनले थपे, “तुलसीपुर उपमहानरपालिका–११, सुकौरास्थित प्राचीन थारू राजा दङ्गीशरणको दरबार क्षेत्रमा ५० लाख खर्च गरेर पर्यटन प्रवर्धनका लागि भ्यु टावर निर्माण गरिएको छ, त्यो पनि सञ्चालनमा आउन सकेको छैन ।”

तत्कालीन सांसद बुद्धिराम भण्डारीको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट २० लाख र प्रदेश सरकारको बजेटबाट उक्त भ्यु टावर बने पनि आयआर्जनसँग जोड्न तथा अन्य आर्थिक आयआर्जनका गतिविधि अघि बढाउन नसकेको गुनासो स्थानीय नागरिकको छ । स्थानीयवासीको माग र आवश्यकताबिनै बनेका भ्यु टावरको उचित संरक्षण र प्रवर्धनसमेत हुन सकेको छैन । पर्यटन प्रवर्धन गर्ने कुनै ठोस योजनाबिना नै सङ्घ, प्रदेश र स्थानीय तहले करोडौँ रुपियाँ खर्च गर्दा पनि उपलब्धि शून्य भएको स्थानीयवासी बताउँछन् ।