पशुपन्छी औषधी व्यवसायी संघमा नयाँ नेतृत्व

काठमाडौं । पशुपन्छी औषधी व्यवसायी संघले नयाँ नेतृत्व पाएको छ । पुस २४ र २५ गते चितवनमा भएको १४ औं महाधिवेशनले रितेश रिमालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । पशुपन्छी औषधी व्यवसायी संघका विभिन्न पदमा रहेर काम गरेका रिमाल पाथिभरा भेट डिस्टिव्यूटर्सका सञ्चालक हुन् ।

हालसम्म संघको नेतृत्व लिएका कुनै पनि अध्यक्ष विवादभन्दा बाहिर निस्कन सकेका छैनन् । पशुपन्छी औषधी आयात गर्ने र डिलरको काम गर्नेहरुले किसानलाई ठग्नु ठगेको विगतको इतिहास छ । अझ संघको अध्यक्ष बनेपछि पदको दुरुपयोग गर्दै विभिन्न शक्ति केन्द्रलाई रिझाउने र गैरकानूनी ढंगले पशुपन्छीको औषधी आयात गर्ने गरेका छन् ।

पशुपन्छी औषधी व्यवसायलाई मर्यादित बनाउने भन्दा पनि संघको नाममा धन्दा चलाउनेहरुले स्थापनाकालदेखि अहिलेसम्मका नेतृत्व चुकेका छन् । दुई वर्षका लागि नयाँ नेतृत्वमा आएका रिमाल पनि दूध नुहाएका व्यक्ति भने हुँदै होइनन् । उनी पनि पूर्व अध्यक्षहरुको इशारामा चल्ने र पशुपन्छी औषधी व्यवसायी मध्ये कै एक हुन् ।

अधिवेशनमा आयात तर्फको उपाध्यक्षमा सुना सुवेदी र थोकतर्फको उपाध्यक्षमा एकनारायण पौडेल र खुद्रा तर्फको उपाध्यक्षमा लक्ष्मण घिमिरेलाई निर्वाचित भएका छन् । त्यस्तै संघको महासचिवमा सादुराम ढकाल, कोषाध्यक्षमा राजेन्द्र थापा सचिवमा केशव शर्मा निर्वाचित भएका छन् ।