जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको जग्गा स्थानीयको कब्जामा

वीरगन्ज । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको बारास्थित तामागढी शाखाअन्तर्गतको कैयौं बिघा अतिक्रमणमा परेको छ । जडीबुटी उत्पादन तथा प्रशोधनका लागि जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले तामागढी साझेदारी वन क्षेत्रको ३३३.३३ हेक्टरको भोगाधिकार पाएको हो । तर, पछिल्लो समय जग्गा संरक्षणमा ध्यान नदिँदा कैयौं बिघा स्थानीयले अतिक्रमण गरिसकेका छन् । यो क्रम अझै रोकिएको छैन ।

विभिन्न प्रजातिका जडीबुटी खेती गरिएको यो ठाउँ जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिडेटको बारास्थित तामागढी शाखा हो । २०३८ सालमा स्थापना भएको यो शाखा काठमाडौंबाहिर सबभन्दा ठूलो क्षेत्रफलमा जडीबुटीको उत्पादन तथा प्रशोधन गर्ने शाखाका रुपमा चिनिन्छ । यो शाखाले स्थापनाकालदेखि नै सात प्रकारका जडीबुटीको खेती गर्दै आएको छ । यसबाट सन्चो, बाम, मसाज तेल, सिलाजित, सेनिटाइजर जस्ता औषधिजन्य पदार्थको उत्पादन तथा बिक्री गर्दै आएको छ । तर, पछिल्लो समय यो कारखानाको २० बिघाभन्दा बढी जग्गा अतिक्रमण भइसकेको केन्द्रका उपप्रबन्धक प्रवीण आचार्य बताउँछन् ।

जडीबुटी उत्पादन तथा प्रशोधन गर्न तथा विदेशमा समेत निर्यात गर्न भन्दै वन मन्त्रालयले बाराको तामागढी साझेदारी वन क्षेत्रभित्र को ३३३।३३ हेक्टर अर्थात् सय बिघा कम्पनीलाई भोगाधिकार दिएको हो । तर, अहिले कम्पनीका अधिकारीको बेवास्ताले यो जग्गा अतिक्रमणमा परेको छ । अतिक्रमित जग्गाको जीपीएस लोकेसनसहितको वास्तविक तथ्यांक केन्द्रले उपलब्ध नगराउँदा संरक्षणमा समस्या भएको डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंह बताउँछन् ।

कारखानासँग जडीबुटी खेती गर्ने पाँच हजार किसान अप्रत्यक्ष जोडिएका छन् भने दुई सयले कारखानामा प्रत्यक्ष रोजगारी पाएका छन् । तर, सरकारी लापरबाहीका कारण यो कारखानाको अवस्था कमजोर हुँदै आएको छ । जसका कारण एकातिर उत्पादन र निर्यात दुवैको अवस्था सन्तोषजनक छैन भने अर्कोतिर यसको भोगाधिकारमा रहेको वनको जग्गा अतिक्रमणमा परेको छ ।