देउवाले संसद् पुनस्थापनालाई ओझेलमा पारेः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापनाको आन्दोलनलाई कमजोर पार्न खोजेको आरोप लगाएका छन् ।

शनिबार विराटनगरमा मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको साधारण सभाको उद्घाटन गर्दै कोइरालाले अदालतलाई देखाएर सभापति देउवाले संसद पुनर्स्थापनाको आन्दोलनलाई कमजोर पार्न खोजेको आरोप लगाएका हुन् । कोइरालाले देउवाको ढुलमुले स्वभावका कारण कांग्रेसले संसद पुनर्स्थापनाको आन्दोलनलाई अपेक्षाकृतरुपमा अघि बढाउन नसकेएको बताए ।

‘संसद विघटनविरुद्धको आन्दोलनलाई हामीले सोचेझैं सशक्त बनाउन सकेका छैनौँ,’उनले भने, सभापति देउवाजीको ढुलमुले चरित्र आन्दोलनको बाधक बन्यो ।कोइरालाले चौतर्फी दबाबपछि अब कांग्रेस संसद पुनर्स्थापनाको आन्दोलनमा होमिने वातावरण बनेको बताए । उनले सभापति देउवा प्रधानमन्त्री केपी शर्मा ओलीजस्तै व्यक्तिगत स्वार्थमा लोभिएको पनि आरोप लगाए ।