ज्ञवाली राजनाथ मुलाकात

काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्‍त्री प्रदीप ज्ञवालीले भारतका रक्षामन्‍त्री तथा सत्तारुढ दलका वरिष्ठ नेता राजनाथ सिंहसँग भेटवार्ता गरेका छन्।

 

शनिबार दिल्लीमा भएको भेटवार्ता नेपाल भारत सम्बन्ध तथा दुई पक्षीय हितबारे सकारात्मक छलफल भएको छ। नेपाल भारतबीच थाती रहेका विषयहरूलाई सम्बोधन गर्दै सम्बन्धलाई अझ् हार्दिक र सुदृढ बनाउने विषयमा दुवैतिरबाट जोड दिइएको छ। ज्ञवालीसँगको भेटमा सिंहले नेपालसँगको सम्बन्ध र सहकार्यलाई अझ् व्यापक र बलियो बनाउन भारत सधै तयार रहेको बताएका थिए।नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन बिहीबार दिल्ली पुगेका परराष्ट्रमन्‍त्री ज्ञवालीले विदेशमन्त्री डा एस जयशंकरलगायतका अधिकारीसँग भेटवार्ता गरिसकेका छन्।

 

दुवै देशका परराष्ट्रमन्‍त्री सहभागी शनिबार सम्पन्न‍ आयोगको बैठकमा नेपाल र भारतबीच सीमा समस्या तथा अन्त थाती विषय चाँडै सुल्झाउने सहमति भएको छ। आयोगको बैठकमा कोभिड—१९ खोप, सीमा नाका र सीमा व्यवस्थापन, अन्तरदेशीय यातायात, आर्थिक सहयोग, व्यापार, जलविद्युत् र जलस्रोतका साथै संस्कृति र शिक्षालगायत महत्वपूर्ण क्षेत्रहरूका बारेमा छलफल भएको छ।नयाँ राजनीतिक घटनाक्रमपछि भएको परराष्ट्रमन्‍त्रीको यो भ्रमण दुई देशबीचको सम्बन्ध सुधारका लागि महत्वपूर्ण मानिएको छ। झन्डै एक वर्षदेखि दुई देशबीचको सम्वाद र सम्बन्ध सहज हुन नसकिरहेका बेला नेपालको तर्फबाट पहिलोपटक यो स्तरको भ्रमण भएको हो। यो बीचमा दुईपक्षीय संयन्‍त्रका नियमित बैठक तथा छलफलसमेत अवरुद्ध भएका थिए। तीमध्ये संयुक्त आयोग सबैभन्दा महत्वपूर्ण संयन्त्र हो।परराष्ट्रमन्त्री ज्ञवाली शनिबार स्वदेश फर्किएका छन्। नक्सा प्रकरणपछि चिसिएको सम्बन्धलाई सुधार गर्न ज्ञवालीको दिल्ली भ्रमण र उच्चस्तरीय भेटवार्ता महत्वपूर्ण हुने बताइएको छ।