लोसपाबाट अलग्गिए राजेन्द्र महतो, घोषणा गरे नयाँ अभियान

काठमाडौं । पार्टी अध्यक्ष महन्थ ठाकुरसँगको लामो असन्तुष्ट रहेका लोसपाका नेता राजेन्द्र महतोले नयाँ अभियान घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै महतोले लोसपाबाट अलग्गिएर नयाँ अभियान घोषणा गरेको जानकारी दिएका हुन् ।

अब एकल रूपमा छुट्टाछुट्टै फुटेर संघर्ष गर्दा भोगेको पीडा र असफलताबाट सबक लिँदै फोड र राज्य गरु शासकीय नीतिविरुद्ध जुटौँ र आफ्नो सत्ता हासिल गरौँ अभियानतहत सबै मिली एकताबद्ध भई राष्ट्रिय मुक्ति क्रान्ति गर्नुको विकल्प नै रहेन, सोमबार महतोले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

उनले नेपालमा लोकतन्त्र, गणतन्त्र, मानवअधिकार, विकास तथा समाजवादको बहस सम्भ्रान्तीय झुठ साबित भएको दाबी गरेका छन् । यहाँ लोकतन्त्र मानव अधिकार, विकास, वृद्धि(संवृद्धि, समाजवादको बहस सम्भ्रान्तीय झुठ, फरेब, जनता झुक्याउने र ठग्ने प्रपन्च सावित भयो, महतोले भनेका छन् ।

सोहीकारण अहिलेसम्म हावी रहेको राजनीतिक शक्ति संरचनाकै विकल्प खोज्नुपर्ने बेला आएको महतोको टिप्पणी छ । उजले राज्य र समुदायबीच अलगाव र सम्बन्धविच्छेदको मनोविज्ञान तीव्र रूपमा बढिरहेको उल्लेन गरेका छन् ।

राज्य र समुदायबीच अलगाव र सम्बन्धविच्छेदको मनोविज्ञान तीव्रो रूपमा बढिरहेको छ । यसलाई नरोक्ने हो भने देश गम्भीर दुर्घटनामा कुनै पनि बेला फस्न सक्दछ । यो दलदलबाट मुलुकलाई निकाल्न अनिवार्य बन्न गएको छ, महतोले जारी गरेको वक्तव्यमा उल्लेख छ ।