संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने ठूलो होड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई औचित्यहिन र अपराध भन्नु इतिहासको मजाक भएको बताएका छन् । काठमाडौंमा आयोजित शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तरक्रियामा बोल्दै महासचिव विप्लवले जनयुद्धलाई औचित्यहिन र अपराध भन्नु इतिहासको मजाक भएको बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र जनयुद्ध, जनआन्दोलन र नेपालका सम्पूर्ण विद्रोहको सन्तानको रुपमा जन्मिएको सन्तान भएको बताए ।

देशमा नायकहरुलाई अपराधीजस्तो र अपराधीहरुलाई नायकजस्तो बनाउने परिस्थिति आएको बताउँदै उनले जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन भएको बताए । जनयुद्धको प्रतिफल नै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उनको भनाइ छ ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र भनेको जनयुद्ध, जनआन्दोलन, नेपालका सम्पूर्ण विद्रोहको सन्तानको रुपमा जन्मिएको सन्तान हो यो,’ विप्लवले भने, ‘अहिले मान्छेहरुले के भन्छन् भने जनयुद्धलाई त औचित्यहिन भन्न थाले । जनयुद्ध त केही पनि होइन, उस्तै परे अपराध भन्न थाले । त्यो देख्दाखेरी इतिहासको मजाक जस्तो लाग्छ मलाई । कस्तो फिल हुन्छ भने नायकहरु अपराधीजस्तो । र अपराधीहरु नायकजस्तो बन्ने परिस्थिति पनि नेपालमा बनेको छ नि । उल्टिएको छ तर सम्भव छैन ।

इतिहासको मूल्य फरक कुरा हो । त्यो केही लाछि मान्छेहरु, क्रान्तिमा हारेका मान्छेहरु, पछारिएर धुरमुरिदैँ उठेका अन्धाहरुले भनेजस्तो कुरा होइन त्यो । अरु विदेशी तत्वहरुले गुन्गुनाउने कुरा जस्तो होइन त्यो । कुण्ठा पोख्ने विषय होइन त्यो । जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन हो र त्यसको प्रतिफलको रुपमा नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । त्यसमा जनआन्दोलनको पनि भुमिका छ ।’

उनले आफूहरुको गन्तव्य संघीय लोकतान्त्रिक गणतन्त्र मात्रै नभएर वैज्ञानिक समाजवाद हुँदै मानव जातिलाई वर्ग विहिन, शोषणविहिन, देशविहिन, जाति विहिन साम्यवादमा पु¥याउने सपना रहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने ठूलो होड चलेको भन्दै त्यो सम्भव नहुने पनि उनले बताए ।