अंक गणितको खेलमा कांग्रेस

काठमाडौं । सत्ताबाट कांग्रेस बिमुख बनेपछि गठबन्धनबारे आउने प्रतिक्रिया मिश्रित देखिएपनि कांग्रेस आफै भने सरकारका लागि मरिहत्ते गरिरहेको छ । कांग्रेस सभापति देउवाले पदाधिकारीदेखि शीर्ष नेताहरुलाई बोलाएर छलफल गरिरहेको अवस्था छ । उनले साना दललाई समेत समेटेर छलफल गरेको देखिन्छ । लोसपा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायतलाई बुढानिलकण्ठ बोलाएर छलफल गरेका देउवाले नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई समेत समेट्न खोजेका थिए । तर, देउवाको रणनीति सफल हुन सकेन् । त्यसपछि कांग्रेस महामन्त्री गगन थापाले साना दलमाथि आक्रोश नै पोखेका थिए ।

आफूले नेतृत्व गरेका प्रदेशमा कांग्रेसले नेतृत्वलाई टिकाउने प्रयास गरिरहेको छ । तर, कोशी र गण्डकीमा भने स्थिति थप संकटग्रस्त बन्ने सम्भावना बलियो छ । गण्डकीमा संसदीय अंकगणितका कारण समस्या निम्तिने खतरा छ भने, कोशीमा संवैधानिक संकट आउने आशंका गरिएको छ । कोशीमा अहिलेको सत्ता गठबन्धनसँग स्पष्ट बहुमत भएपनि संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार भएकाले उनले संसद नै विघटन गरिदिने चेतावनी दिदै आएकाले कोशीको विषय थप संकटमा पर्नसक्ने देखिएको छ ।