आज रंगहरुको पर्व फागु पर्व पहाडी क्षेत्रमा मनाइँदै

काठमाडौं । रंङ्हरूको पर्वका रुपमा आज फागु पर्व मनाईँदै छ । फागु पर्व पहाडी जिल्लामा जिल्लाहरूमा विभिन्न किसिमका रङ, अविरको प्रयोग गरी एकआपसमा दलेर मनाईदै छ ।
पहाडी जिल्लाहरूमा आजै फागु पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि (सोमबार) मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार आइतवार पहाडी क्षेत्र र सोमबार तराई क्षेत्रमा सार्वजनिक बिदा दिएको छ ।

फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको चीर ठड्याइपछि देशभर यो पर्व सुरु भएको मानिन्छ । यसपटक बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ ४ चैतमा चीर ठड्याइएको थियो ।

स्थानअनुसार मनाइने फागु अर्थात होलीको नाम पनि फरक छ । हिमाली र पहाडी भेकमा खासगरी ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।

सबैलाई एउटै रङ्गमा रङ्गाउने फागु पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ ।

असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीकको रुपमा फागु पर्व मनाउने गरिन्छ ।