कांग्रेस बाहिरिएपछि एमाले बागमती प्रदेश सरकारमा सहभागी

काठमाडौं । कहिले सासुको पालो कहिले बुहारीको पालो भने जस्तै सत्तामा जाने र बाहिरिने काममा अहिले कांग्रेस एमालेलाई माओवादी राम्रैसँगै नचाईरहेको देखिन्छ । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शनिबार मन्त्रिपरिषद् विस्तार गरेपछि अहिलेको अवस्थालाई वर्णन गर्न थालिएको छ । एमालेको तर्फबाट संसदीय दलका नेता जगन्नाथ थपलिया मन्त्री बनेका छन् । उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ।
अहिले एमाले र माओवादीको गठबन्धन बनेपछि कांग्रेस सरकारबाट बाहिरिएको छ। कांग्रेसको ठाउँमा मुख्यमन्त्री जम्कट्टेलले एमालेलाई सरकारमा सहभागी गराएको हो।

नवनियुक्त मन्त्री थपलियालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार साँझ पद तथा गोपनीयताको शपथ खुवाएका छन्। उनी दोस्रो पटक बागमतीको अर्थमन्त्री बनेका हुन्। २०७९ सालको निर्वाचनपछि उनी अर्थमन्त्री बनेका थिए। तर कांग्रेस र माओवादीको गठबन्धन बनेपछि एमाले सरकारबाट बाहिरिएको थियो।