प्रधानमन्त्री दाहाल भन्छन्, ‘२०७२ को संविधान पूर्ण छैन’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान संविधान सबै किसिमले पूर्ण नरहेको बताएका छन् । मंगलवार काठमाडौंमा समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुा बताएका हुन् ।

प्रधानमन्त्री दाहालले अहिलेको संविधान सम्झौताकै दस्तावेज भएकाले पूर्ण नरहेको अहिले आफूले नयाँ सत्ता समिकरण बनाएको उद्देश्य प्रधानमन्त्री बन्नका लागि नभएको जिकिर गरे । उनले समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमान्दार भइ र नेपालको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरेर नयाँ समीकरण बनाएको बताए

प्रधानमन्त्री दाहालले समाजवादी धारा र प्रवृत्तिका पार्टीहरुले जित्दै जाँदा संविधान समाजवादतिर अझ अग्रसर हुँदै जान सक्ने बताए । उनले पुँजीवादी र प्रतिक्रियावादीहरुले जित्दै गए संविधान अझ प्रतिगामी हुँदै जाने खतरा रहेको धारणा राखे ।

प्रधानमन्त्री दाहालले संविधानलाई बढीभन्दा बढी प्रगतिशील धारातिर अघि बढाउनका लागि आपसी एकतालाई सुदृढ गर्दै इतिहासका अनुभवबाट शिक्षा लिँदै अघि जान जरुरी रहेको बताउँदै नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरु एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीब्र गतिमा अघि बढाउन सकिने विश्वास व्यक्त गरे ।