जुद्धोदय माविको करोडौं भाडा उठाएर कसले खान्छ ? ः रघुजी पन्त

काठमाडौँ । काठमाडौँको मुख्य पर्यटकीय क्षेत्र ठमेलमा रहेको सरकारी विद्यालय जुद्धोदय माविको जग्गा भाडामा लगाएर करोडौं रुपैयाँ अपचलन भईरहेको र सो रकम कसले खाएको भन्ने कुरा अहिलेसम्म खुल्न नसकेको भन्दै प्रतिनिधिसभा वैटकमा नेकपा एमालेका सांसद रघुजी पन्तले प्रश्न उठाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले स्थापना गरेको जुद्धोदय माविको अहिले बेहाल भएको बताए ।

ठमेलमा ठुलो दरबार जत्रो जुद्धोदय स्कुल थियो जहाँ मैले पढेको थिएँ । त्यो बिल्डिङ गयो, त्यसको ठाउँमा नयाँ बिल्डिङ बनायो, कमिसन र ठेक्कामा त्यहाँको हेडमास्टरले बदमासी गरेर अहिले सानो कुनामा स्कुल थन्किएको छ ।

महिनाको करोडौँको भाडा कसले खाइरहेको छ पत्तो छैन ।’ सांसद पन्तले भने– ‘ म काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका, शिक्षा मन्त्रालय, उपत्यका र देशभरिका शैक्षिक संस्थाको जग्गा जसरी लुट भएको छ त्यसको बारेमा गम्भीरतापूर्वक छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गर्दछु ।