वाइडबडी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै पूर्वमन्त्री जीवनबहादुर शाही सहित ३२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  बिहिबार अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगत कंसाकर, पूर्व पर्यटन सचिव शंकर अधिकारीलगायत ३२ जना विरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुखको भूमिकामा रहेका तत्कालीन महाप्रवन्धक एवं संचालक समिति सदस्य सुगतरत्न कंसाकार, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव एवं नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति अध्यक्ष शंकर प्रसाद अधिकारी, भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति सदस्य शिशिर कुमार ढुङ्गाना, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समितिका सदस्य बुद्धिसागर लामिछाने, नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति सदस्य टेकनाथ आचार्य, नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति सदस्य निमा नुरु शेर्पा, नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति सदस्य मुक्तिराम पाण्डेलाई समेत मुद्दा दायर गरेको हो ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक एवं नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति सदस्य जीवन प्रकाश सिटौला र नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति सदस्य भई हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका संचालक समिति सदस्य अच्युतराज पहाडी पनि भ्रष्टाचारमा मुछिएका छन् ।

त्यस्तै नेपाल वायुसेवा निगमका तत्कालीन का.मु.निर्देशक रामहरी शर्मा सेढाँई, तत्कालीन का.मु. निर्देशक तथा हाल नायव महाप्रबन्धक श्री जनकराज कालाखेती र तत्कालीन उपनिर्देशक प्रभाश कुमार कर्माचार्य, नेपाल वायुसेवा निगमका तत्कालीन निर्देशक गणेश बहादुर चन्द, तत्कालीन का.मु.निर्देशक कर्ण बहादुर थापा र तत्कालीन नि.निर्देशक तथा हाल बरिष्ठ क्याप्टेन सुवास रिजाल, नेपाल वायुसेवा निगमका तत्कालीन नायव महाप्रबन्धक रमेश बहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा हाल बरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचन, तत्कालीन का.मु. निर्देशक रविन्द्र श्रेष्ठ, तत्कालीन का.मु. निर्देशक तथा हाल निर्देशक उपेन्द्र पौडेल, तत्कालीन उपनिर्देशक तथा हाल निर्देशक श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेल, तत्कालीन निमित्त उपनिर्देशक तथा हाल निर्देशक उमेश पौडेल र तत्कालीन निमित्त उपनिर्देशक तथा हाल उपनिर्देशक बृहतमान तुलाधर विरुद्ध पनि अख्तियारले वाइडवडी भ्रष्टाचारमा मुद्दा दायर गरेको हो ।

वाइडबडी जहाज खरिद प्रकरणमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।