द्वन्द्वरत देश इजरायलमा जिटुजी मार्फत नेपाली कामदार जाँदै ,५८ जनालाई भिषा जारी

काठमाडौँ । प्यालेष्टाईन र इजरायलवीच लामो सयमदेखि द्वन्द्धजारी छ । पछिल्लो समय अझै कडा रुपमा प्रस्तुत भएको प्यालेस्टाइनले बमबारी गरेकै कारण लर्न एण्ड अर्न कार्यक्रममा मार्फत इजरायल पुगेको विद्यार्थीहरुको मृत्यु भएको आलो घाउ अझै सेलाउन पाएको छैन । तर पनि सरकारले जिटुजीको माध्यमबाट भन्दै जेठको दोश्रो साता ५८ जना युवाहरुलाई इजरायल पठाउन लागेको छ । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली सहायक श्रमिकका रूपमा केयरगिभरमा जान स्वास्थ्य परीक्षण गरेका ४२५ युवामध्ये ५८ जनाको भिसा जारी भएको हो । दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली सहायक श्रमिकका लागि इजरायल दूतावासले ५८ जना युवा जेठको दोस्रो साताभित्र इजरायल उडान गर्ने गरी भिसा जारी भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागको पटक पटकको आग्रहपछि इजरायल सरकारले केयरगिभरमा छनोट भएका युवा इजरायलमा रोजगारीका लागि जान थालेका हुन् । यसअघि लट्रीमा नपरेका अहिले पुनः छनोट गरेर ४२५ युवालाई अहिले लैजान सुरु गरेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले भिसा प्राप्त भएका ५८ युवालाई इजरायल जाने तयारी गर्न सूचना जारी गरिसकेको जानकारी दिए ।

विभागका अनुसार इजरायलका विभिन्न केयरगिभरमा विदेशी श्रमिक अभाव हुन थालेपछि सो क्षेत्रमा नेपाली केयरगिभर लैजाने तयारीसहित भिसा तथा करार सम्झौता धमाधम हुन थालेको छ । इजरायलस्थित नेपाली दूतावासले थप केयरगिभर कोटाका सम्बन्धमा छलफल गर्ने जनाउँदै आएको छ । हाल इजरायलमा जिटुजीमार्फत गएका एक हजार १०५ नेपाली कार्यरत छन् ।

घरायसी केयरगिभरको तुलनामा जिटुजीमार्फत जाने केयरगिभर सस्तो भएका कारण त्यहाँका केयरगिभर सेन्टरले पछिल्लो समय सरकारी माध्यममार्फत नै नेपाली युवा माग गर्दै आएका छन् ।

सन् २००९ सम्म म्यानपावर कम्पनीबाट नै श्रमिक इजरायल रोजगारीमा जाने गरेको भए पनि कम्पनीले श्रमिकबाट चर्को सेवा शुल्क असुलेपछि इजरायलले नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो । तीन वर्षअघि जिटुजीमार्फत नै केयरगिभर लैजाने गरी श्रम सम्झौता गरिएको थियो ।

नेपाल र इजरायलबिच २०७७ असोज १४ गते इजरायलको श्रम बजारमा नेपाली श्रमिकको रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।