संसदमा कांग्रेस सांसद विश्वप्रकाशलाई बोल्न किन रोके सभामुखले

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधि सभामा शुक्रबार बोल्न पाएनन् । सभामुखले कांग्रेसका सांसदहरुलाई बोल्नै अवसर नै दिएनन् । तर नेपाली कांग्रेसका सांसदहरूबीच सवाल गरिरहे । उनीहरुले सभामुखले विपक्षीलाई बोल्न नदिएको आरोप लगाए ।
संसद्को शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरेर पास गर्ने कार्यसूची थियो । तर सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलमा सकारात्मक छलफलपछि संसद् नियमित कार्यसूचीमा प्रवेश नगर्ने निश्चित जस्तै भयो ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरू उठे । तर सभामुख देवराज घिमिरेले शून्य, विशेष र आकस्मिक समय नरहेको जानकारी गराए । अनि प्रतिपक्षले उठाएको सहकारीसँग सम्बन्धित विषयमा कार्यदलमा छलफल जारी रहको भन्दै संसद्लाई नियमित काम कारबाहीमा लैजान आग्रह गरे । कांग्रेस सांसदहरूले मानेनन् ।
बरु बोल्न समय मागे । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बोल्ने तयारी गरेर आएका थिए । नेताहरूका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस सचेतक सुशीला थिङले महामन्त्री शर्माले बोल्ने जानकारी पनि गराएकी थिइन् ।

तर सभामुखले समय दिन नसक्ने बताए । अघिल्ला बैठकहरूमा आफूले कांग्रेस सांसदहरूलाई बोल्न दिँदा समस्या बढेको भन्दै उनले समय लिन नसक्ने बताएका थिए । सचेतक थिङले भने बोल्न पाउनुपर्ने माग गरेकी थिइन् ।

संसद्‌मा पनि कांग्रेस सांसदहरू बोल्न दिनुपर्ने माग गरे । महामन्त्री शर्माले भने, ‘प्रतिपक्ष उभिरहेका बेलामा बोल्न समय उपलब्ध गराउनु सभामुखको कर्तव्य हो भन्ने हामी ठान्दछौं ।’