काठमाडौं महानगरमा आन्तरिक लफडा, वडा अध्यक्षले गुहारे भौतिक मन्त्रालय

काठमाडौ । अहिले काठमाडौं महानगरपालिका न्यूरोड र रिङरोडको सडकसँग निकै चर्चित भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले रिङरोड क्षेत्र समयमा नै निर्माण नहुँदा काठमाडौबासीले धुलो खेप्न वाध्य भएकाले दोष आफूहरुले खेप्नु परेको भन्दै भौतिक पूर्वाधार मन्त्रीलाई उपहार भन्दै सडक विभागको गेटमा शनिबार फोहोर फाल्न लगाए । सामाजिक सञ्जाल मार्फत मेयरले बालेनले फोहोर फालेको तस्वीर सहित केही सन्देश पनि पोष्ट गरे । बालेनले के पोष्ट गर्लान् र त्यसलाई भाइरल बनाउन पाइएला भन्ने आशामा बसेका यूट्युव तथा अनलाईनहरुले त्यसलाई केही समयमा नै निकै रोमाञ्चकारी भूमिकाले आआफ्नो सञ्जाल तथा डिजिटल सञ्चार माध्यमहरु मार्फत प्रकाशन गरे ।

शनिबारको दिन नै त्यसले व्यापकता पायो । वाहा बालेन भन्ने धेरै निस्किए, सामाजिक सञ्जालमा बालेनको निकै समर्थन देखियो । त्यसको लगतै डिभिजन सडक कार्यालयले प्रतिकार स्वरुप प्रेस विज्ञप्ति जारी गर्यो । महानगरपालिकाले न्यूरोड सडकमा आफू खुशी काम गर्न नपाएको झोँकमा रिङरोडलाई बहाना बनाएको र फोहोर फाल्ने कार्य अराजक भएको संज्ञा दियो ।

एकातिर काठमाडौं महानगरपालिकाको नेतृत्व र सडक विभागको जुहारी चलिरहेको थियो भने अर्कोतिर महानगरपालिकाकै वडा नं. २२ भने संघीय सरकारको भौतिक मन्त्रालय गुहारिरहको थियो । २०८१ साल जेठ १२ गते फोहोर फालेको चर्चा जसरी भयो । सो विषय न्यूरोडको सडक खण्ड खुम्च्याउने र पेटी फराकिलो पार्ने महानगरका मेयर योजनामा सहयोग नगरेकै कारण थियो भन्ने डिभिजन सडक कार्यालयले उल्लेख गरेको छ ।

महागनरले न्यूरोड सडक खण्ड भत्काउन शुरु गरेपछि काठमाडौं सडक डिभिजनले सो कार्य रोकेको मात्र होइन, ठेकेदार कम्पनीले सडक भत्काउन प्रयोग गरेको सामग्री पनि जफत गरेको छ । तर त्यही सडक नभत्काउन भन्दै न्यूरोड कार्यक्षेत्र पर्ने काठमाडों महानगरपालिका वडा २२ का वडा अध्यक्ष चिनीकाजी महर्जनले २०८१ वैशाख २८ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गुहारेको छ । महर्जनले मन्त्रीलाई लेखेको पत्रमा भनिएको छ, ‘ महानगरले न्यूरोड सडक ११ मिटरबाट ७ मिटरमा खुम्च्याउन र पेटी बढाउनका लािग गरेको टेण्डर रोकी सो क्षेत्रमा हुने सवारी आवागमनको अवस्थालाई भयावह हुने भएकाले सो योजना खारेज गर्न पहल गर्न अनुरोध गर्दछौं ’ ।

वडा कार्यालयले पठाएको पत्र र सडक डिभिजन कार्यालय महानगरपालिकालाई पठाएको पत्रले काठमाडौं महानगरपालिका आन्तरिक लफडामा छ भन्ने स्पष्ट देखिएको छ । भौतिक मन्त्रालयलाई पत्र नै लेखेर न्यूरोडको काम रोक्न हार गुहार गरिरहेका वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन काठमाडौं महानगरपालिकाका मेयर बालेनसँग प्रत्यक्ष लफडामा उत्रिएका छन् । वडा कार्यालयकै आधिकारिक पत्रमा मन्त्रीलाई न्यूरोडमा सशक्त प्रतिकार हुन सक्ने भएकाले त्यसबाट हुन सक्ने सम्भावित दूर्घटना र त्यसबाट आउने सक्ने क्षति महानगरपालिकाले नै व्यहोर्नु पर्ने छ भन्ने उल्लेख गर्नुले महानगर भित्र आन्तरिक लफडा सतहमा नै आएको छ ।