जनमत पार्टीले नौलो गणतन्त्र आन्दोलन घोषणा गर्ने

काठमाडौं । १७ औं गणतन्त्र दिवसको अवसरमा जनमत पार्टीले नौलो गणतन्त्र आन्दोलन घोषणा गर्ने भएको छ । काठमाडौंको भृकुटी मण्डपमा आज एक कार्यक्रमकाबीच आन्दोलनको घोषणा गर्न लागिएको पार्टी सचिव बीपी साहले जानकारी दिए । १७औं गणतन्त्र दिवस मनाइरहँदा पनि देशमा आर्थिक समृद्धि र स्थायित्व आउन नसकेको भन्दै साहले आन्दोलनको घोषणा गर्न लागिएको बताए । ‘देशमा आर्थिक प्रणाली सुधार, राजनीतिक स्थायित्व र उत्पादकत्व बढाउने व्यवस्थाका लागि नौलो गणतन्त्र आन्दोलनको उद्घोष गर्दैछौं,’ उनले भने ।

जनमतले आन्दोलनको घोषणाअघि सांस्कृतिक झाँकीसहित र्‍याली निकाल्ने बताएको छ । बिहान ११ बजे विभिन्न स्थानबाट निस्किने र्‍याली भद्रकाली, शहीद गेट, बीर अस्पताल र रत्नपार्क हुँदै भृकुटी मण्डपमा आयोजित सभामा समावेश हुनेछ ।

उक्त सभालाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसहितका नेताहरुले सम्बोधन गर्दै आन्दोलनको घोषणा गर्ने कार्यक्रम तय भएको छ । तराईलाई छुट्टै राज्य बनाउनु पर्ने अभियान सहित राजनीतिको मूल धारमा आउका डा सिके राउतले घोषणा गर्ने नौलो गणतन्त्रको खाका कस्तो हुने भन्ने अहिलेसम्म खुलाईएको छैन ।