पहिरो झरेपछि विहानैदेखि नारायणघाट–बुटबल सडक खण्डमा यातायात ठप्प

नवलपरासी । पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहेका बेला मङ्गलबार राती फेरि लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।

हिजो दिनभर भासिएको सडक मर्मतको काम भए पनि नसकिएपछि बुधबार बिहानैदेखि मर्मत गर्ने गरी सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो । तर लेदोसहितको पहिरो झरेपछि बिहान ४ः४५ बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिएका छन् ।

सोमबार साँझ ५ बजे सडक भासिएर एकतर्फी सञ्चालन भए पनि सडक थप भासिएपछि मङ्गलबार बिहान ८ः३० बजेदेखि पूर्णरुपम यातायात अवरुद्ध भएको थियो । बाटो एकतर्फी भए पनि सञ्चालनका लागि प्रयास भइरहेको पौडेलले बताए ।

दिउँसो २ बजेसम्म मर्मत गरी सक्ने आँकलनका साथ काम गरिए पनि सोचेभन्दा बढी काम गर्न परेकाले राती एकतर्फी बाटो सञ्चालन गरेर छोडिएको थियो ।