ललितपुर । सङ्घीय सरकारका मन्त्रीहरू ललितपुरको पुल्चोकस्थित हरिहर भवन मन्त्रीनिवासबाट भैँसेपाटीस्थित नवनिर्मित सुविधासम्पन्न मन्त्रीनिवास सर्न सुरु गरेका छन् । अहिलेसम्म पाँच जना मन्त्री भैँसेपाटी निवासमा सरिसकेको सहरी विकास मन्त्रालयले जनाएको छ । यसै गरी राष्ट्रिय सभाका उपाध्यक्षसमेत भैँसेपाटीस्थित नवनिर्मित भवनमा सरेका छन् ।
सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता बिनु वज्राचार्य कुँवरले अहिलेसम्म उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, खानेपानीमन्त्री प्रदीप यादव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर सुडी भैँसेपाटी निवासमा सरेको जानकारी दिएका छ ।
त्यसै गरी राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसमेत भैँसेपाटीस्थित नवनिर्मित निवासमा सरिसकेको प्रवक्ता कुँवरले जानकारी दिए । साउनभित्र सबै मन्त्रीलाई हरिहर भवनस्थित मन्त्रीनिवासबाट भैँसेपाटीस्थित मन्त्रीनिवासमा स्थानान्तरण गर्ने मन्त्रालयको योजना छ । मन्त्रीहरुको बसाइँ सरेपछि त्यसलाई मर्मतसम्भार तथा रङरोगन गरी न्यायाधीशहरूको निवासका रूपमा विकास गरिने छ । ती भवनमा न्यायाधीशहरू बसोबास गर्ने छन् । गएको फागुनमा मन्त्रीपरिषद्ले मन्त्रीनिवास भैँसेपाटी सारेर हरिहर भवनमा सर्वोच्च अदालतका न्यायाधीशहरूको आवास बनाउने निर्णय गरेको थियो ।
Add Comment