काठमाडौं। विशेष अदालतले वाइडबडी खरिदमा भएको भ्रष्टाचार प्रकरणमा मुछिएका ३२ जना आरोपीमध्ये १० जनालाई मात्रै भ्रष्टाचारी ठहर गरेर अरुलाई सफाइ दियो ।
नेपाल वायुसेवा निगमका तत्कालीन अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार तथा बोर्डका सदस्यहरु बुद्धिसागर लामिछाने र शिशिर ढुंगाना कसुरदार ठहरिँदा तत्कालीन पर्यटनमन्त्री जीवन कुमार शाहीसहित अरुले सफाइ पाए ।
त्यसैगरी विमान आपूर्ति गर्ने विदेशी कम्पनी र तिनका ८ प्रतिनिधिमाथि भ्रष्टाचार मुद्दा चलेकोमा भुक्तानी भएको रकम राख्ने एस्क्रो कम्पनी र उसका दुई प्रतिनिधिबाहेक अरु ६ आरोपितहरु कसुरदार ठहरिए ।
विशेष अदालतले अख्तियारले दावी गरेको भ्रष्टाचारको अंकबिगोलाई भने हुबहु सदर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ नै भ्रष्टाचार गरेको ठहर्याएको हो ।
Add Comment