काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बुधबार ६ जना सह–परीक्षा नियन्त्रक नियुक्ति गर्यो । त्रिविका रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालका अनुसार विराटनगर, जनकपुर पोखरा, नेपालगन्जमा एकरएक जना र काठमाडौंको लागि दुई जना सह–परीक्षा नियन्त्रक नियुक्ति गरिएको हो ।
तर, नियुक्ति गरेको केही घण्टामै राष्ट्रिय लोकतान्तिक प्राध्यापक संघले विज्ञप्ति निकालेर असन्तुष्टि जनायो । ‘नियुक्ति प्रक्रिया अलोकतान्त्रिक भयो, समावेशिताको मर्मविपरीत छ । तीन दल निकट प्राध्यापक संघ संगठनसँग छलफल गरेर निर्णय गरिएको छ’ संघका अध्यक्ष उदयकिशोर तिवारीले भने, ‘हामीसँग कुनै परामर्श नै गरिएन ।’
नियुक्त गरिएका ६ जना सह–परीक्षा नियन्त्रक नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट रहेका उनको आरोप छ । राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघ चाहिँ लोकतान्त्रिक समाजवादी पार्टी लोसपा निकटको हो ।
संघले निर्णय सच्याउन त्रिविका पदाधिकारीलाई ४८ घण्टाको अल्टिमेटम दिएको छ । ‘नियुक्ति प्रक्रिया नसच्याए संघर्षमा उत्रन्छौं । संविधानको मर्म अनुसार समावेशिताको आधारमा चयन हुनुपर्छ । आदिवासी, जनजाति, मधेशी, मुस्लिम, महिलाको हक अधिकार कुण्ठित गरिएको छ,’ उनले भने ।
तर, त्रिविका पदाधिकारीहरू राष्ट्रिय लोकतान्तिक प्राध्यापक संघको आरोप सत्य नरहेको दाबी गर्छन् ।
त्रिविका रजिस्ट्रार रिजाल छनोट तथा सिफारिस समितिले दिएको नामबाट एक जनालाई कार्यकारी परिषद्ले नियुक्ति गरेको बताउँछन् । प्रत्येक ठाउँको सह–परीक्षा नियन्त्रकका लागि छनौट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।
Add Comment