काङ्ग्रेससँगको सम्बन्धलाई के गर्न खोज्दैछ एमाले ?

काठमाडौँ।प्रमुख दुई सत्तारुढ दलबीचको सम्बन्धमा चिसोपना आइरहेको भन्ने चर्चाका बीच नेकपा एमालेले कांग्रेससँग सत्ता गठबन्धन गर्दाको परिणामबारे छलफल गर्दैछ।

कांग्रेससित गठबन्धनको राजनीतिक कोर्स सुरु भएपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमा एमालेले समीक्षा गर्न लागेको हो ।आइतबारदेखि सुरु हुने बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्ने राजनीतिक प्रतिवेदन माथि छलफल हुँदैछ। ओलीको राजनीतिक प्रतिवेदनमा कांग्रेस एमाले सरकारका उपलब्धि र कमजोरी समीक्षा गरी आगामी कार्यक्रम प्रस्ताव गर्ने सूची छ।

सरकार ढल्दैछ भन्ने आशंकाका बीच बस्न लागेको एमालेको यो बैठकले कांग्रेससँग सहकार्यको समीक्षा गरी आगामी कार्ययोजना बनाउने एक नेताले बताए। पछिल्लो समय दुई दलका नेताहरूले सरकारको भविष्यबारे खासै नबताए पनि बाहिर भने यो सरकार धेरै लामो नजाने चर्चा व्यापक रुपमा चल्न थालेको छ।

सरकार बनाउँदा दुबै दलका नेताले आलाेपालाे सरकारकाे नेतृत्व गर्ने सहमति गरेका थिए ।जस अनुरूप पहिलाे चरणमा ओलीकाे नेतृत्वमा सरकार चलिरहेकाे छ ,त्यसपछिकाे सरकार हाक्न देउवा पालाे पर्खेर बसिरहेका छन् ।कतै पालाे नआइपग्दै सरकार दुर्घटनामा पाे परिहाल्छ कि भन्ने चिन्ता कांग्रेसका नेताहरुलाई परिरहेकाे छ ।

प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक कार्यक्रममा यदाकदा गरिएका भाषणमा सरकारको वर्तमान सरकारको भविष्यलाई लिएर गरिएको चर्चाले पनि कांग्रेस एमालेबीचको गठबन्धनमा कतै खटपट छ कि भन्ने आकलन भने गर्न सकिन्छ। किनकि यहाँ सरकारमा हुँदाहुँदै पनि सरकार टिकाउन प्रतिपक्षी दलसँग पनि छलफललाई निरन्तरता दिने राजनीतिक संस्कार भने चल्दै आएको छ।

त्यसैकारण प्रचण्ड लगायतका प्रतिपक्षी दलका नेताहरूबाट सरकारको भविष्यलाई लिएर कुरा उठ्नु स्वभाविक मान्न सकिन्छ। जुन अवस्था र परिस्थितिमा वर्तमान सत्ता गठबन्धन बने पनि यो सरकारले जसरी जनतालाई सेवा दिनुपर्ने हो काममा चुस्तता देखिनुपर्ने हो त्यो देखिएको छैन जसले गर्दा सत्तारुढ दल कै नेताहरू पनि त्यति सन्तुष्ट देखिँदैनन्। विशेषगरी प्रमुख तीन ठूला दललाई काममा भन्दा पनि सरकारमा कसरी टिकिरहने र जान सकिन्छ भन्ने ध्याउन्नमा छन्।