अब आँधिहुरी आउनेवाला छ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संविधान र लोकतन्त्रको पक्षमा सर्वोच्च अदालतबाट फैसला आएन भने आँधीहुरी आउने र त्यसलाई कसैले थाम्न नसक्ने चेतावनी दिएका छन् ।

उक्त समूहले आज काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले आजको विशाल जनताको उपस्थितिले पनि सम्मानित अदालतका न्यायाधीशहरुले जनता के चाहन्छन् भन्ने बुझिसकेको हुनुपर्ने बताए ।

‘लाखौं जनताको उपस्थिति सर्वोच्च अदालतका सम्मानित न्यायाधीशहरुले पनि देख्नुभएको छ आज,’ उनले भने,‘यो हेर्दा ढिलो नगरी संविधान र लोकतन्त्रका पक्षमा फैसला दिनुहुन्छ ।’

संविधानको मर्म र भावनाविपरीत तथा जनताको मानमर्दन केही काम गरियो भने त्यो दुर्भाग्यपूर्ण हुने उनको चेतावनी छ ।

प्रतिगमन सच्चिएन भने केही दिनपछि सिंहदरबार र बालुवाटार घेर्न जनता आउने भन्दै उनले सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा आयोजना गरिने बताए ।