कवाड व्यवसायीहरुले काठमाडौँ महानगरपालिकाको कार्यालय घेर्ने योजना

काठमाडौं । कवाड व्यवसायीहरुले काठमाडौँ महानगरपालिकाको कार्यालय घेर्ने योजना बनाएका छन् । कवाड व्यवसायी समाजले भोलि महानगर कार्यालय घेराउ गर्ने जानकारी दिएका छन् ।

मेयर बालेन साहको निर्देशनमा महानगर प्रहरीले बलजफ्ती, हातपात तथा कुटपिट गरेको र विभिन्न सामान जफत गरेको उनीहरुको आरोप छ । मेयर बालेनले डोजर लगाएर आतंक मच्चाएको कवाड व्यवसायी मनोहर जैसवालले बताए । उनले भने, ‘डोजर देखाएर जुन आतंक मच्चाइएको छ, हामी त्यसको घोर भत्र्सना गछौँ ।’

अर्का व्यवसायी ओमप्रकाश सिंहले पनि महानगरको ज्यादती तत्काल नरोकिए थप आन्दोलन गर्ने बताए । भनेका छन्, ‘महानगरले यो ज्यादती तत्काल रोक्नुपर्यो, जफत गरेका सामान फिर्ता गर्नुपर्यो र घाइतेहरुको उपचार गर्नुपर्यो । नत्र हामी संघर्षका थप कार्यक्रम बनाउन बाध्य हुनेछौँ ।’

महानगर प्रहरीले कवाड व्यवसायीहरुले मापदण्डविपरित भौतिक संरचना बनाएको बताउँदै डोजर चलाएको छ । त्यसविरुद्ध कवाडी व्यवसायीले पटक पटक प्रदर्शन गर्दै आएका छन् ।