काठमाडौं ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा आपत्ति जनाएका छन् । अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत सरकारको कदम गलत र आपत्तिजक भएको उल्लेख गरेका छन् । उनले दुई तिहाई बहुमतको दम्भमा गरिएको यस निर्णयप्रति घोर निन्दा समेत गरेका छन् ।
देशले चरम लोडसेडिङको मार खेपिरहेका बेला प्रचण्ड नेतृत्वको सरकारले घिसिङलाई उर्जा विज्ञका रुपमा घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।
घिसिङको विज्ञता र क्षमताबाट ऊज्यालो नेपाल निर्माण गर्न सफल भएको प्रचण्डको भनाई छ। बाँकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेको कारणले लामो समयदेखि घिसिङलाई पदबाट हटाउने उद्देश्यका साथ पटक-पटक स्पष्टीकरण सोधेर सरकारले अन्याय गर्दै आएको उनले बताए ।
‘सरकारले मन्त्रीपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट थाहा हुन आएको छ । आशा गरौं यो खबर असत्य सावित होस् ,’ उनले भने, ‘यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ । कथित दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दछु ।’
Add Comment