नक्कली सुन दिएर ५५ लाख रुपैयाँ ठगी गर्नेहरु पक्राउ

 

काठमाडौं । एक किलो नक्कली सुन दिएर ५५ लाख रुपैयाँ ठगी गर्ने व्यक्तिहरु पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मिनभवनका सुचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रशाद कोईरालाका अनुसार नक्कली सुन दिएर ठगी गरेको अभियोगमा छ जना पक्राउ परेका हुुन् ।

पक्राउ पर्नेहरुमा काभ्रेको भुम्लु गाउँपालिका घर भई हाल काठमाडौ माछापोखरी बस्ने ३२ बर्षिय सन्त बहादुर लामा, नुुवाकोट जिल्ला घर भई हाल काठमाडौको तारकेश्वर बस्ने ४५ बर्षिय ऋषमान घले, नुवाकोट घर भई काठमाडौको तारकेश्वर नै बस्ने ३५ बर्षिय जित भन्ने मेख तामाङ, झापाको अनारमनी घर भई हाल काठमाडौको ताहाचल बस्ने ५३ बर्षिय अभय कुमार चौधरी, नुवाकोट भई भई हाल काठकाडौको तारकेश्वर बस्ने २० बर्षिय चन्द्र भन्ने जेरि तामाङ र नुवाकोट घर भई तारकेश्वर बस्ने २६ बर्षिय राज तामाङ रहेको सुचना अधिकृत कोईरालाले जानकारी दिएका छन् ।

कोईरालाका अनुसार यही माघ १० गते काठमाडौको ताहाचल बस्दै आएका एक व्यक्तिलाई सुन जस्तो देखिने एक केजी पंहेलो धातुु सक्कली सुन हो भनि ति व्यक्तिबाट ५५ लाख रुपैयाँ झुक्याई ठगी गरेको हुंदा ठगी कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान गरिपाउँ भनि यही माघ २६ गते महाशाखामा निवेदन आएको थियो । सोही निवेदनका आधारमा महाशाखाले ठगी कार्यमा संलग्नहरुको खोजतलास गर्ने क्रममा उपत्यकाका बिभिन्न स्थानहरुबाट ति व्यक्तिहरुलाई पक्राउ गरेका हौ, प्रवक्ता कोईरालाले भने ।

पक्राउ परेकाहरुको साथबाट नौ लाख ५० हजार रुपैयाँ नगद, ठगी गरेको रकमबाट खरिद गरेको मोटरसाईकल दुुई थान र पाँच थान मोवाईल बरामद गरिएको प्रवक्ता कोईरालाले बताए । पक्राउ परेका सबै जनालाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाएका छौ, उनले भने ।